हवाई फायर गरी तीन किलो अफिम र खुकुरी सहित दुई जना पक्राउ
रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका–४ छोटेबगरबाट प्रहरीले करिब तीन किलोग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा एक जनाले प्रहरीमाथि खुकुरी प्रहार गर्ने प्रयास गरेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको जनाएको छ।
पक्राउ पर्नेमा आठविसकोट नगरपालिका–३ स्यालाखदीका २८ वर्षीय टिकाराम बोहरा र आठविसकोट नगरपालिका–२ स्यालाका २० वर्षीय गणेश वली रहेका छन्।
प्रहरीका अनुसार सडकछेउमा शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरूलाई रोकी चेकजाँच गर्ने क्रममा टिकाराम बोहराले बोकेको झोलाबाट गणेश वलीले अचानक खुकुरी निकालेर प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए। त्यसपछि प्रहरी सहायक निरीक्षक निरजबहादुर पालले स्थिति नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेका थिए।
दुवै जनालाई नियन्त्रणमा लिएपछि गरिएको शरीर तथा झोला खानतलासीका क्रममा करिब तीन किलोग्राम अफिम र दुई थान खुकुरी बरामद भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


