आफैले बोकेको भरुवा बन्दुक पड्किँदा एक जना गम्भीर घाइते
काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ गैरीगाउँका ४६ वर्षीय थामी तामाङ आफैले बोकेको भरुवा बन्दुक अचानक पड्किँदा गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार तामाङ आफ्नो घरदेखि करिब दुई किलोमिटर पश्चिमतर्फ रहेको खेतमा जंगली बँदेलले मकैबाली नष्ट गरेपछि बँदेल मार्ने उद्देश्यले भरुवा बन्दुक बोकी गएका थिए। सोही क्रममा बन्दुक अचानक पड्किँदा उनी गम्भीर घाइते भएका हुन्।
घटनापछि उनलाई उपचारका लागि काठमाडौंस्थित वीर अस्पताल लगिएको छ। बन्दुक पड्किँदा उनको दाहिने कोखा र पिठ्युँमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


