मोरङको रतुवामाईबाट धानको भुसामुनि लुकाइएको एक टनभन्दा बढी गाँजा बरामद, धनकुटाका चालक पक्राउ
मोरङ । मोरङको रतुवामाई नगरपालिका–१०, सोमबारेमा प्रहरीले एक टनभन्दा बढी लागूऔषध गाँजासहित मिनी ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय सिजुवा, मोरङ र सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म बङ्गडा चुनिबारीबाट खटिएको संयुक्त टोलीले उर्लाबारी–आमबारी सडकखण्डमा उर्लाबारीबाट आमबारीतर्फ आउँदै गरेको को १ ख ४३७३ नम्बरको मिनी ट्रक रोकी जाँच गरेको थियो।
जाँचका क्रममा ट्रकको पछाडि राखिएको धानको भुसाको बोरामुनि कालो प्लास्टिकमा प्याक गरिएका ३१ वटा पोकाभित्र लुकाइराखिएको १ हजार ३३ किलो ४८४ ग्राम तयारी गाँजा फेला परेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न मिनी ट्रक चालक धनकुटाको पाख्रीबास नगरपालिका–९, हिले निवासी २८ वर्षीय उमेश तामाङलाई गाँजासहित नियन्त्रणमा लिइएको छ। प्रहरीले मिनी ट्रक समेत नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।


