ट्रकको ठक्करबाट ७९ वर्षीय वृद्धको मृत्यु, चालक फरार
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–८ हलचोकमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा कावासोती नगरपालिका–८ निवासी ७९ वर्षीय तुलसीप्रसाद च्वाई रहेका छन्। उनी पैदल हिँडिरहेका बेला कावासोतीबाट डण्डातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका च्वाईको घटनास्थलमै मृत्यु भएको हो।
घटनापछि फरार भएको ट्रकको खोजी गर्ने क्रममा प्रहरीले बिहान करिब ७ः३० बजे मध्यबिन्दु नगरपालिका–११ स्थित पूर्व–पश्चिम राजमार्गबाट शंकास्पद बा ३ क १९०३ नम्बरको ट्रक फेला पारी नियन्त्रणमा लिएको छ।
ट्रकका चालक भने फरार रहेकाले उनको खोजी जारी रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


