मोरङमा १ हजार ३३ किलो गाँजा सहित मिनी ट्रक र चालक पक्राउ
विराटनगर । मोरङ प्रहरीले १ हजार ३३ किलोभन्दा बढी लागूऔषध गाँजासहित एक मिनी ट्रक र चालकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार (साउन १५) रतुवामाई नगरपालिका–१०, सोमबारेमा इलाका प्रहरी कार्यालय सिजुवा र सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म बड्डा चुनिबारीबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा कारबाही गरेको हो।
उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनी ट्रक रोकी खानतलासी गर्दा ट्रकको पछाडि धानको भुसा राखिएको बोरामुनि कालो प्लास्टिकमा प्याक गरिएको अवस्थामा ३१ वटा पोकामा लुकाइछिपाइ राखिएको १ हजार ३३ किलो ४८४ ग्राम लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न ट्रक चालक धनकुटाको पाख्रिबास नगरपालिका–९, हिलेका २८ वर्षीय उमेश तामाङलाई नियन्त्रणमा लिइएको छ। बरामद गाँजा, मिनी ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय सिजुवामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


