संखुवासभा र मोरङका सामुदायिक वनबाट ४ थान भरुवा बन्दुक बरामद
काठमाडौं । प्रहरीले संखुवासभा र मोरङका छुट्टाछुट्टै स्थानबाट लुकाइछिपाइ राखिएको अवस्थामा ४ थान भरुवा बन्दुक बरामद गरेको छ।
संखुवासभाको चैनपुर नगरपालिका–११ स्थित मलाटे सामुदायिक वनको भिरमा रहेको ओडारबाट प्रहरीले ३ थान भरुवा बन्दुक बरामद गरेको हो। साउन १६ गते गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट सभाखोलाबाट खटिएको प्रहरी टोलीले ओडारभित्र प्लास्टिकले बेरेर लुकाइछिपाइ राखिएको अवस्थामा ३ थान भरुवा बन्दुक, १ थान सलाईको बट्टा र ५० ग्राम सलाईको बारुद फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ।
यस्तै, मोरङको उर्लाबारी नगरपालिका–१ कत्लेस्थित श्री जनज्योति सामुदायिक वनबाट पनि १ थान भरुवा बन्दुक बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीबाट विशेष सूचनाका आधारमा गस्तीमा खटिएको प्रहरी टोलीले बोराभित्र लुकाइछिपाइ राखिएको अवस्थामा उक्त बन्दुक, त्यसमा प्रयोग हुने १३ थान धातुको किट तथा ४५ ग्राम ८८० मिलिग्राम बारुद फेला पारी बरामद गरेको हो।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


