धनकुटामा ट्रकबाट ६ सय ४७ किलो गाँजा बरामद, चालक र सहचालक पक्राउ
धनकुटा, साउन २१ । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट प्रहरीले ट्रकमा लुकाइछिपाइ ल्याइएको ६४७ किलोग्राम गाँजा बरामद गर्दै चालक र सहचालकलाई पक्राउ गरेको छ।
बिहीबार बिहान करिब ५:३० बजे कोशी लोकमार्ग हुँदै विराटनगरतर्फ जाँदै गरेको ना. ३ ख ५०९५ नम्बरको ट्रकलाई भेडेटार चोकमा रोकाएर चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ट्रकभित्र कालो प्लास्टिकमा प्याक गरी लुकाइछिपाइ राखिएका ४८ वटा पोका बरामद गरिएको थियो। ती पोकाको तौल गर्दा जम्मा ६४७ किलोग्राम गाँजा रहेको पुष्टि भएको हो।
घटनामा संलग्न रहेको आरोपमा ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका–३ निवासी २७ वर्षीय उमेश थिङ र सहचालक धनकुटाको शहीदभूमि गाउँपालिका–१ निवासी ३६ वर्षीय तुलराम राईलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


