झापा, मोरङ र सुनसरीबाट लागूऔषध सहित ९ जना पक्राउ
विराटनगर, ३० साउन । झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ।
साउन २९ गते झापाको बिर्तामोड नगरपालिका–३ बाट इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले प्र.१–०१–००२ ह ७८६६ नम्बरको सिटी सफारी चेकजाँच गर्ने क्रममा बिर्तामोड नगरपालिका–१ का ४० वर्षीय सन्तोष राजवंशीलाई १ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
त्यस्तै, मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बाट प्रदेश अनुसन्धान समूह (PIT) र अस्थायी प्रहरी चौकी बलियाबाट खटिएको संयुक्त टोलीले सोही स्थानका २२ वर्षीय प्रशान्त मगरलाई ३९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय लेटाङले लेटाङ नगरपालिका–३ का १८ वर्षीय सुरज लिम्बूलाई १०० ग्राम गाँजासहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय पथरीले कानेपोखरी गाउँपालिका–६ का २४ वर्षीय निमेष घिमिरेलाई २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।
यसैगरी, सुनसरीको इटहरी उपमहानगरपालिका–१० बाट प्रदेश अनुसन्धान समूह (PIT) र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले इटहरी–१० का ४१ वर्षीय मोहन गुरुङ, ४९ वर्षीया कुमारी राई र इटहरी–४ का २३ वर्षीय अर्जुन काफ्लेलाई पक्राउ गरेको छ।
उनीहरूको साथबाट ५ ग्राम ८५० मिलिग्राम ब्राउन सुगर र नगद १८ हजार ५० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका–८ का २८ वर्षीय मनोज पाण्डे र धरान–१५ का २२ वर्षीय पवन सापकोटालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ट्रामाडोल ८७० क्याप्सुल, स्पास्पेन ८६५ क्याप्सुल र २५० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


