भन्सार छलीका ६२ लाख भन्दा बढीका कपडा बरामद
कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रहरीले ठूलो परिमाणमा भन्सार छली गरी ल्याइएका कपडा बरामद गरेको छ।
पूर्व–पश्चिम राजमार्ग हुँदै बिलबिजकबिना अवैध सामान ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले सोमबार राति करिब १२ः३० बजे कावासोती नगरपालिका–८ फलफूल चोकमा सवारीसाधन जाँच गरेको थियो।
सो क्रममा पश्चिमबाट पूर्वतर्फ नारायणगढ जाँदै गरेको ना.३ ख ४६७२ नम्बरको ट्रक जाँच गर्दा बिलबिजक नभएका विभिन्न प्रकारका कपडा फेला परेका हुन्।
प्रहरीका अनुसार ट्रकबाट विभिन्न रंगका कुर्ता–सुरुवाल २ हजार १६० थान, काँचो कपडा २२५ थान (६ हजार ८७५ मिटर) र ३१५ थान (७ हजार ६८७ मिटर) बरामद भएको छ।
बरामद सामानको कुल मूल्य ६२ लाख ५० हजार ५०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद सामानसहित ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पठाएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

