घरगोठमा लुकाएर राखेको ६६० किलो गाँजा सहित दुई जना पक्राउ
सर्लाही । भारततर्फ तस्करी गर्ने उद्देश्यले घर तथा गोठमा लुकाएर राखिएको ठूलो परिमाणको गाँजासहित सर्लाहीमा दुई जना पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवासबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा अनुसन्धान गर्ने क्रममा लालबन्दी नगरपालिका–१४ डाइनीखोलाबाट ६६० किलो गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार सोही स्थानका ६३ वर्षीय नरबहादुर थिङले आफ्नो घरमा २६ वटा बोरामा लुकाएर राखेको ५६० किलो गाँजा बरामद गरिएको छ।
यस्तै, सोही ठाउँकी ५२ वर्षीया जेसुन माया थिङले आफ्नो गोठमा चारवटा टिनका ड्रमभित्र लुकाएर राखेको करिब १०० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले नरबहादुर थिङ र जेसुन माया थिङलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय लालबन्दी, सर्लाहीमा बुझाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

