विराटनगरबाट ३४.६४० ग्राम खैरो हेरोइन सहित दुई जना पक्राउ
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१९ मिलनचोकबाट प्रहरीले ३४.६४० ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले भदौ ४ गते खैरो हेरोइन खरिद–बिक्री गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका–१ का ३२ वर्षीय ध्रुवप्रसाद रिजाल र सुन्दरहरैंचा नगरपालिका–९ का ३१ वर्षीय नरेश भट्टराई रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट ३४.६४० ग्राम खैरो हेरोइन, दुई थान मोबाइल र प्रदेश १–०२–०५२ प ६४८८ नम्बरको स्कुटर बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

