‘अन टेस्ट’ ईभी हाइस दुर्घटना हुँदा चार जना घाइते, दुईको अवस्था गम्भीर
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–८, लुभुस्थित नरकट्टेमा नम्बर प्लेट नलिएको ‘अन टेस्ट’ ईभी हाइस अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
अनियन्त्रित भएको ईभी हाइस घरको गेटमा ठोक्किएपछि गेटछेउमा पार्किङ गरी राखिएको बा १८ च ९२८८ नम्बरको कारमा समेत ठोक्किएको थियो। दुर्घटनामा कारमा सामान्य क्षति पुगेको छ।
दुर्घटनामा घाइते हुनेहरूमा हाइस चालक महालक्ष्मी नगरपालिका–८, लुभुका २६ वर्षीय अखिल राजथला रहेका छन्। उनको अवस्था गम्भीर रहेको र किस्ट अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै, महालक्ष्मी नगरपालिका–७, चागाथलीका २५ वर्षीय आशिष महर्जनको अवस्था पनि गम्भीर रहेको छ। उनको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ।
मकवानपुर घर भई हाल महालक्ष्मी नगरपालिका–६, सानागाउँ बस्ने १८ वर्षीया एलिसा लामा मध्यम घाइते भएकी छन्। उनको किस्ट अस्पतालमा उपचार भइरहेको छ।
महालक्ष्मी नगरपालिका–८, लुभुका २६ वर्षीय राज महर्जन भने सामान्य घाइते भएका छन्। उनको पनि किस्ट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
हाइसमा चालकसहित चार जना मात्र सवार रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

