भोजपुर र उदयपुरमा ४ हजारभन्दा बढी गाँजाका बोट तथा बेर्ना नष्ट
विराटनगर, भदौ २४ गते । भोजपुर र उदयपुर जिल्लाका विभिन्न स्थानमा प्राकृतिक रूपमा उम्रिएका तथा लगाइएका अवैध गाँजाका बोट तथा बेर्ना प्रहरीले फडानी गरी नष्ट गरेको छ।
भदौ २३ गते भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार र प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका–३ र ९ का विभिन्न क्षेत्रमा रहेको पाखाबारीमा करिब २ रोपनी क्षेत्रफलमा फैलिएका गाँजाका बोट तथा बेर्ना फडानी गरेको हो।
प्रहरीका अनुसार उक्त क्षेत्रबाट प्राकृतिक रूपमा आफैँ उम्रिएका तथा लगाइएका २ हजार ५० वटा गाँजाका बोट तथा बेर्ना फडानी गरी नष्ट गरिएको छ।
त्यस्तै, उदयपुरको अस्थायी प्रहरी चौकी मैनामैनीबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका–७ स्थित बारीमा प्राकृतिक रूपमा उम्रिएका २ हजार वटा गाँजाका बोट तथा बेर्ना फडानी गरी आगो लगाएर नष्ट गरेको छ।
प्रहरीले अवैध गाँजा खेती नियन्त्रण तथा नष्ट गर्ने अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।

