उदयपुर र भोजपुरमा २ हजारभन्दा बढी गाँजाका बोट तथा बेर्ना नष्ट
विराटनगर, भदौ २५ गते । भोजपुर र उदयपुरका विभिन्न स्थानमा प्राकृतिक रूपमा आफैँ उम्रिएका तथा लगाइएका गाँजाका बोट तथा बेर्ना प्रहरीले फडानी गरी नष्ट गरेको छ।
भदौ २४ गते सम्बन्धित इलाका तथा क्षेत्रबाट खटिएको प्रहरी टोलीले उदयपुरको ताप्ली गाउँपालिका र कटारी नगरपालिकाका विभिन्न स्थानमा प्राकृतिक रूपमा उम्रिएका तथा लगाइएका करिब १ हजार २६० वटा गाँजाका बोट तथा बेर्ना फडानी गरी नष्ट गरेको हो।
त्यस्तै, इलाका प्रहरी कार्यालय घोडेटार र प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरी टोलीले भोजपुरको हतुवागढी र आमचोक गाउँपालिकाका पाखाबारीमा करिब ३ रोपनी क्षेत्रफलमा लगाइएका करिब ८५० वटा गाँजाका बोट फडानी गरी जलाएर नष्ट गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुवै जिल्लामा गरी करिब २ हजार ११० वटा गाँजाका बोट तथा बेर्ना नष्ट गरिएको छ।

