जितिया पर्वको दिन पोखरीमा नुहाउँदा दुई किशोरीको ज्यान गयो
रौतहट, १७ असोज । जितिया पर्वका अवसरमा पोखरीमा नुहाउन गएका बाराका दुई किशोरीको डुबेर मृत्यु भएको छ।
देवताल गाउँपालिका–६ स्थित स्थानीय पोखरीमा नुहाउने क्रममा १५ वर्षीया चाँदनी पटेल र १६ वर्षीया निशा पटेल डुबेका हुन्।
प्रहरीका अनुसार चाँदनी स्थानीय राजेश पटेलकी छोरी हुन् भने निशा भोला पटेलकी छोरी हुन्। दुवै किशोरी पोखरीमा नुहाउने क्रममा डुबेको खबर पाएपछि स्थानीय र प्रहरीले तत्काल उद्धार गरेका थिए।
उद्धारपछि दुवैलाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक राजाबाबु ठाकुरले जानकारी दिए।
घटनापछि दुवै किशोरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ।
घटनाको कारण र परिस्थितिबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

