मस्तिष्क अनुसन्धानका लागि तीन वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार

काठमाडौं, २० असोज। मस्तिष्कको गतिविधिसम्बन्धी अनुसन्धानका लागि तीन वैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ।

 

५४ वर्षीय कार्ल डाइसेरोथ, ७१ वर्षीय पिटर हेगेमान र ७३ वर्षीय जर्ज नागेलले 'लाइट-गेटेड आयन च्यानल' र 'अप्टोजेनेटिक्स' को क्षेत्रमा अनुसन्धान गरेका छन्। उनीहरू जर्मनी र संयुक्त राज्य अमेरिकाका विश्वविद्यालयहरूमा कार्यरत छन्। चिकित्सा विज्ञान समितिका सचिव थोमस पर्लमानले सोमबार फोनमार्फत तीनै जना विजेताहरूसँग सम्पर्क गर्न सफल भएको बताए।

 

'अप्टोजेनेटिक्स' ले स्नायु विज्ञान मा एउटा नयाँ युगको सुरुवात गर्‍यो। यसअन्तर्गत प्रकाशको माध्यमबाट नियन्त्रण गर्न सकिने यस्ता 'स्विच' को आविष्कार गरियो, जसले मस्तिष्कका स्नायु कोषहरू र तिनका सञ्जालहरूलाई सक्रिय वा निष्क्रिय पार्न सक्छ। यसले मस्तिष्कको कार्यप्रणाली अझ राम्ररी बुझ्नका साथै व्यवहार र रोगहरूसँग सम्बन्धित जैविक प्रक्रिया वा मार्गहरू पत्ता लगाउन मद्दत पुर्‍याउँछ।

 

यसको सुरुवात तब भयो, जब हेगेमानले एक-कोषीय हरियो लेउ  कसरी प्रकाशतर्फ पौडिन सक्छ भन्ने विषयमा अनुसन्धान गरे। उनले र नागेलले एउटा विशेष प्रोटिन पत्ता लगाए, जसमा नीलो प्रकाश पर्दा 'च्यानल' खुल्छ र विद्युतीय सङ्केत उत्पन्न हुन्छ। सो प्रोटिनलाई अन्य कोषहरूमा राख्दा ती कोषहरू पनि प्रकाशप्रति संवेदनशील बन्छन्। त्यसपछि डाइसेरोथले उक्त प्रोटिनलाई नियन्त्रण गर्ने जिनमा काम गरेर जीवित मुसाको मस्तिष्कमा रहेका स्नायु कोषहरूका लागि प्रकाशद्वारा नियन्त्रित 'स्विच' तयार पारे।

 

स्टकहोमस्थित क्यारोलिन्स्का इन्स्टिच्युटमा यो पुरस्कारको घोषणा गरिएसँगै यस वर्षको 'नोबेल सप्ताह' सुरुवात भएको छ। यस वर्षको पुरस्कार राशि १ करोड २० लाख स्विडिस क्रोनर (करिब १२ लाख अमेरिकी डलर) रहेको छ। यो राशि विजेता व्यक्ति, सानो समूह वा संस्था जसलाई प्रदान गरिए पनि समान रहनेछ। गत वर्ष यो पुरस्कार प्रतिरक्षा प्रणाली सम्बन्धी अनुसन्धानका लागि तीन वैज्ञानिकहरूलाई प्रदान गरिएको थियो।

 

सोमबार चिकित्साशास्त्रतर्फको पुरस्कार घोषणा पछि मङ्गलबार भौतिकशास्त्र, बुधबार रसायनशास्त्र र बिहीबार साहित्यतर्फको नोबेल पुरस्कार घोषणा गरिनेछ। त्यसैगरी, शुक्रबार शान्ति पुरस्कारको घोषणा गरिए पछि अक्टोबर १२ मा अर्थशास्त्रतर्फको नोबेल मेमोरियल पुरस्कारको घोषणा हुनेछ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖