कांग्रेस महाधिवेशनः नयाँ केन्द्रीय नेतृत्व चयनका लागि दिउँसाे १ बजेवाट मतदान हुँदै
काठमाडौं, २२ असाेज । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ।
यसअघि बिहान १० बजेदेखि सुरु गर्ने भनिएको मतदानको समय केही पछाडि धकेलिएर दिउँसो १ बजेका लागि तय गरिएको छ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार प्राविधिक तयारी पूरा गरी दिउँसो १ बजेदेखि मतदान प्रक्रिया सुरु गरिनेछ। यसअघि निर्वाचन समितिले आज बिहान ७ बजेदेखि नै मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर, भारी वर्षा र केही प्राविधिक कारणले सुरुमा बिहान १० बजेका लागि सारिएको मतदान समय पुनः तीन घण्टा पछाडि धकेलिएको हो।
नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि महाधिवेशनमा सहभागी ७ हजार २ सय ५५ जना महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नेछन्। सभापतिसहित अन्य पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ नै सार्वजनिक गरिसकेको छ।
पन्ध्रौँ महाधिवेशनले विधान संशोधन गर्दै कांग्रेसको केन्द्रीय कार्यसमितिलाई २९७ सदस्यीय बनाएको छ। महाधिवेशनस्थलमा सुरक्षा व्यवस्था चुस्त बनाइनुका साथै मतदानका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको निर्वाचन समितिले जनाएको छ।

