कांग्रेस सभापतिमा भारी मतान्तरले गगन थापा बिजयी
काठमाडौ, २४ असोज ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ जिल्लाको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा गगनकुमार थापा भारी मतान्तरका साथ सभापति पदमा विजयी भएका छन्।
सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार थापा ६ हजार ५ सय ८४ मत प्राप्त गर्दै विजयी बनेका हुन्। सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले भने मात्र ३ सय ७५ मत प्राप्त गरेका छन्।
कुल ७ हजार ३९ मत खसेको उक्त निर्वाचनमा ५४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
निर्विरोध बनाउने प्रयास असफल
थापालाई सभापतिमा निर्विरोध चयन गराउने प्रयास गरिएको भए पनि अर्का आकांक्षी श्यामकृष्ण खड्गीले उम्मेदवारी फिर्ता लिन नमानेपछि निर्वाचन प्रक्रिया अघि बढेको थियो।
यसअघि सभापति पदमा उम्मेदवारी दिएका किशोरसिंह राठोरले भने थापालाई निर्विरोध बनाउन समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।
सभापति पदको परिणाम सार्वजनिक भइसके पनि अन्य बाँकी पदाधिकारी तथा सदस्य पदहरूको भने मतगणना सुरू हुन बाँकी रहेको छ।

