ओली आऊ, रानीपोखरी बचाऊ !

– सम्पदाविद्हरुका लागि रानीपोखरी गम्भीर चासोको विषय बनेको छ भने राजनीतिक दलका लागि दाउपेच साँध्ने विषय। रानीपोखरीमा पोखिएको जायज चासो र नाजायज राजनीतिको घालघोलले यसैपनि ढिला भएको पुनःनिर्माणलाई अझ परसम्म धकेल्ने निश्चित छ।

– रानीपोखरी पुनःनिर्माणमा पुरातत्वविद्को सक्रियता र चासो सराहनीय छ। तर सुझाव के मात्रै हो भने उनीहरु दलीय स्वार्थ र पुरातत्व भजाउने ठेकेदारका गोटी नबनुन्।

– रानीपोखरीको ऐतिहासिकता, पुरातात्विक महत्व, यसको भौतिक फैलावट र पछिल्लो विवाद यति उचो छ कि त्यसका अगाडि विद्यासुन्दर फुच्चे भैसके। अब एकमात्र मन्त्र ‘ओली आउ रानीपोखरी बचाउ’ जप्नुको विकल्प छैन।

– रानीपोखरीलाई विवादमा डुबाएर बालकोटमा काजु चपाएर रमिता हेर्ने छुट ओलीलाई छैन।

– १५–२० जना मजदुर खटिएका छन्। पर्खाल सिधा पार्ने डोरी टाँग्दा होस् वा मसला तयार पार्दा मापदण्ड हेक्का राख्न त्यहाँ न महानगरका दक्ष इन्जिनियर हुन्छन्, न त पुरातत्व विभागका इन्जिनियर नै हुन्छन्। मिडियामा कोकोहोलो गर्ने पुरातत्वविद्को त मैदानी काममा खटिने दायित्व नै हैन!

काठमाडौं । बैशाख १२ गतेको भूकम्पको असरले पुरातात्विक महत्वको रानीपोखरीलाई ‘रानीमैदान’मा परिणत गरिदियो। रानीपोखरी पुनःनिर्माणका नाममा हिजोआज यहाँ डोजर चलेका छन्। मौलिकता मासेर अन्धाधुन्द निर्माण जारी छ।

यहीबीचमा सम्पदाविद्हरुका लागि रानीपोखरी गम्भीर चासोको विषय बनेको छ भने राजनीतिक दलका लागि दाउपेच साँध्ने विषय भएको छ। रानीपोखरीमा पोखिएको जायज चासो र नाजायज राजनीतिको घालघोलले यसैपनि ढिला भएको पुनःनिर्माणलाई अझ परसम्म धकेल्ने निश्चित छ।
एकातिर रानीपोखरी मासिएको र पुनःनिर्माणमा मौलिकता उजाडिएको चिन्ता छ भने अर्कोतर्फ भुस्याहा कुकुर देखि विकृत राजनीतिको कृडास्थल बनेको छ रानीपोखरी।

काठमाडौं शहरको केन्द्रमा रहेको यो पोखरी बर्षदिनमा एकाध पटक खुल्ने हुँदा पोखरीको भित्री सौन्दर्य बिग्रिन पाएको थिएन। पोखरी साँच्चिकै मनमोहक थियो।

तर, भूकम्प नआउँदै र विद्यासुन्दर शाक्य मेयर नहुँदै यो पोखरी काठमाडौंको अस्तव्यस्त विकासको चपेटमा भने परिसकेको थियो। पोखरीका चारै किनाराका भौतिक संरचना र अस्तव्यस्त व्यापार÷व्यावहार पोखरीका लागि सकस बन्दै गएको थियो। पोखरी छेउको प्रहरी भवनलाई एउटा उदाहरण मान्दा हुन्छ।

टार्गेट विद्यासुन्दर
विद्यासुन्दर काठमाडौंकै मतबाट मेयर बनेको धेरै भएको छैन। तर छोटो समयमै ‘विद्यासुन्दर’ नाम उनै मतदाताका लागि ‘एलर्जी’ बनेको छ। उनका चुनावी बाचा र काममा पटक्कै तालमेल छैन। उल्टै विवाद र विलासमा मेयर तानिए।

विद्यासुन्दर अब बिचरा पात्र भैसके, अब उनीबाट ठूलो अपेक्षा गरेर टाउको फुटाउनु बेकार छ। विद्यासुन्दरबाट महानगर बनाउने आश अब छैन, उनीबाट महानगर बचाउन सके काफी छ। देशको राजधानी फैलिएको महानगरलाई विद्यासुन्दरको भरमा छाड्नु मुर्खता हुनेछ। अब एमालेबाट विद्यासुन्दरका अक्षमता र लापरवाहीको भरपाई लिन जोड गरे हुन्छ। एमालेको यो कर्तव्य पनि हो।

चुनावमा पहिलो शक्ति बनेर आएको एमालेकै लागि विद्यासुन्दर असक्षमताका पर्याय बन्दैछन्। राजधानीमै एमालेको हुर्मत काढ्न विपक्षीलाई विद्यासुन्दर नाम नै प्रयाप्त छ। यी मेयरले महानगरमा पाइलैपिच्छे गुनासो र वितृष्णा उब्जाउने काम गरेका छन् र विपक्षीलाई एमालेमाथि प्रहार गर्ने प्रयाप्त मौका सुम्पेका छन्। एमालेका हरेक विजयी चेहेरामा विद्यासुन्दर झल्काउने चेष्ठा विपक्षीले गर्नेछन्। गरिरहेका छन्। ‘एमालेहरु ठूला कुरा गर्ने, सपनाहरु बाँड्ने तर काम सिन्को नभाँच्ने हुन्। नपत्याए विद्यासुन्दर हेर,’ भन्ने तर्क र घोचपेच बढ्दो छ।

देशको राजधानी बसेको यो महानगरलाई आफ्नै दलका मेयर विद्यासुन्दरबाट बचाउने चुनौती ठूलो दल एमाले र त्यसका अध्यक्ष एवं अबका प्रधानमन्त्री ओली माथि छ। तर, रानीपोखरीको मामलामा प्रधानमन्त्री हुँदासम्म कुरेर बस्न ओलीलाई छुट भने छैन। पार्टी अध्यक्षका नाताले ओली महानगरको यति ठूलो बहस र विवादमा मौनता साँधेर बस्न मिल्दैन।

रानीपोखरीको ऐतिहासिकता, पुरातात्विक महत्व, यसको भौतिक फैलावट र पछिल्लो विवाद यति उचो छ कि त्यसका अगाडि विद्यासुन्दर फुच्चे भैसके। अब एकमात्र मन्त्र ‘ओली आउ रानीपोखरी बचाउ’ जप्नुको विकल्प छैन।

किन ओली?
महानगरबाट ओलीको दल एमालेले पाएको मतभार धेरै छ। महानगर बन्नु र बिग्रनुको जस÷दोष एमालेमा जान्छ। त्यसैले यो विवादमा जतिसक्दो छिटो ओलीले प्रवेश गरुन्। एउटा दरिलो निर्णय लिन ढिला नगरुन्।

७२ सालदेखि निर्माण थालिएको पोखरी अहिलेम्म अलपत्र छ। पछिल्लो विवादले निर्माण कार्यलाई झनै प्रभावित पारेको छ। बनिसकेका कंक्रिट भित्ता भत्काएर नयाँ निर्माण थाल्नु समय र पैसा दुबै हिसावले महँगो पर्नेछ। तर मौलिकता र पुरातात्विक महत्वलाई पैसासँग दाँज्न मिल्दैन।

अर्कोतर्फ विद्यासुन्दरले भनेजस्तो आधुनिकता र सुन्दरता पनि मिसाएर मौलिकतालाई सकेसम्म बचाउने सिंगो एमालेको अडान हो भने ओली बोलुन् र अगाडि बढुन्। रानीपोखरीलाई विवादमा डुबाएर बालकोटमा काजु चपाएर रमिता हेर्ने छुट ओलीलाई छैन।

महानगरको मत पाँच बर्षका लागि एमालेमा पोखिएको छ। देशकै भारी मत पनि उसकै पक्षमा छ। यो मतले देखाउँछ कि अबको पाँच बर्ष डाडु–पन्यू एमालेकै हातमा हुनेछ। त्यसैले एमालेको निर्णय, अडान र कार्यकौशलतामा रानीपोखरी मात्रै हैन देशकै अद्यावधिक भविष्य टिकेको छ। तत्क्षणका लागि रानीपोखरीको विवाद सुल्झाउनु एमालेको प्राथमिक दायित्व बनेको छ।

उत्ताउलो कांग्रेस
चुनावी हारको छट्पटीले कांग्रेसलाई पिरोल्न अझ थुप्रै बाँकी छ। धेरै घाम/पानी सहेको कांग्रेसले हारलाई संयमता र जिम्मेवार राजनीतिबाटै मल्हमपट्टी गर्नुपर्छ।

तर, मंगलबार रानीपोखरीको चौरमा कांग्रेसबाट विजयी महानगरकी उपमेयर हरिप्रभा खड्गीको व्यवहार उत्ताउलो देखियो। त्यो उत्ताउलो पन कांग्रेसको थियो। खड्गी एकामनले ठानेर पोखरीको गेटमा ताला लगाउन पुगेकी हैनन्। त्यसका पछाडि पार्टीको आदेश र दाउपेच लुकेको छ।
महानगरका समस्या छरपष्ट गरेर उपमेयरको दायित्व पूरा हुँदैन। समस्या बल्झाउने हैन सुल्झाउने उनको भूमिका हुनुपर्छ। उनकै अगुवाइमा रानीपोखरीमा ताला लगाउनु र मिडियामा ‘अर्को पार्टी र त्यसका मेयरले मनपरी गरे’ भन्दै आफू चोखिने व्यवहारलाई जिम्मेवार ठान्न सकिँदैन। हिजो महँगो मोवाईल किन्दा उनै खड्गी हुन्–‘मोवाइल त चाहिन्छ नि’ भन्दै लाभमा हिस्सा खोज्ने। अनुकुल र प्रतिकुल दुबै क्षणमा धर्म नछाड्न कांग्रेसले खड्गीलाई सिकाउनु पर्छ।

पुरातत्वविद्को सराहनीय र शंकास्पद हस्तक्षेप
रानीपोखरी पुनःनिर्माणमा पुरातत्वविद्को सक्रियता र चासो सराहनीय छ। तर सुझाव के मात्रै हो भने उनीहरु दलीय स्वार्थ र पुरातत्व भजाउने ठेकेदारका गोटी नबनुन्।

पुरातत्वविद्ले महसुस गर्नैपर्ने एउटा विषय के हो भने विद्यासुन्दर २०७४ सालमा मेयर हुन आएका हुन्। तर रानीपोखरी पुनःनिर्माण २०७२ सालबाट सुरु भएको हो। ७२ साल माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्माण शिलान्यास गरेकी हुन्।

आलोचकहरुलाई एउटा शंकाको सुबिधा के छ भने पुरातत्वविद्हरुले उ बेला के हेरेका थिए? यति ठूलो पुनःनिर्माणमा साँच्चिकै चासो हो भने विस्तृतमा निर्माण मापदण्ड र योजनाको खाका उहीबेला किन हेरिएन? पहिल्यै हुनुपर्ने बहस किन यति ढिला? अहिले खर्चेको प्रयत्न त्यो बेला लगाउन सकेको भए विषय यतिधेरै गिजोलिने थिएन र राष्ट्रिय धनको विनास हुने थिएन।

ख्याल राख्नु पर्ने अर्को कुरा के छ भने रानीपोखरीको सीमान्त भित्तो यस अगाडि नै कंक्रिटबाटै बनेर सकिएको छ। अहिले बनेको भित्तो पानीको छालले छुने दोस्रो घेराको कंक्रिट भित्तो हो। पुरातत्वविद् त्यो पहिलो भित्तोमा किन ठोकिएनन् र आज उस्तै दोस्रो भित्तोमा टाउको फुटाउँदैछन्? उनीहरुको चासो जरुर खाँचो छ तर उत्तिकै शंकास्पद छ।

जानकारहरुले दिएको सूचनालाई मान्ने हो भने पुरातत्वका नाममा स्वार्थ भजाउनेहरुको झुण्ड पनि छ। त्यो झुण्डले सकेसम्म पुरातात्विक निर्माणको ठेक्का आफ्नो पोल्टामा पार्न खोज्छ। सकेन भने हरतरहबाट बखेडा झिकेर ठेकेदार वा सरकारी संयन्त्रबाट स्वार्थसिद्ध गर्छ। सचेत पार्नै पर्छ र शंका गर्नै पर्छ कि सफा मनले अगाडि सरेका पुरातत्वविद् त्यो झुण्डको इशारामा नफसुन्। विषयलाई एकांकी कोणबाट हैन वहुआयामिक कोणबाट हेर्न जरुरी छ।

विवादको केन्द्रमा रहेको अहिले बनेको कंक्रिट भित्तोलाई हटाउँदा पोखरीको पानीले छुने दोस्रो भित्तो पनि कंक्रिट कै छ। जुन बर्षदिन पहिले नै निर्माण सकिएको हो। अझ त्यो भित्तो यति कमसल छ कि बनेर भ्याउँदानभ्याइदै भत्किन थालेको हो।

मिडियामा कोलाहल मैदानमा गयल
रानीपोखरी पुनःनिर्माण अन्धाधुन्द छ। मेहनती मजदुरले जति विवेक पुर्याएर काम गरेका छन् त्यसको तुलनामा त्यहाँ निर्माण मापदण्ड नापजाँच गर्ने दिनभर कोही हुँदैन।

१५–२० जना मजदुर खटिएका छन्। पर्खाल सिधा पार्ने डोरी टाँग्दा होस् वा मसला तयार पार्दा मापदण्ड हेक्का राख्न त्यहाँ न महानगरका दक्ष इन्जिनियर हुन्छन्, न त पुरातत्व विभागका इन्जिनियर नै हुन्छन्। मिडियामा कोकोहोलो गर्ने पुरातत्वविद्को त मैदानी काममा खटिने दायित्व नै हैन!

भत्काएर फेरि बनाउँदा पनि होस् पुगेन
पोखरीको बीचमा रहेको मन्दिरको संरचना पहिले कंक्रिट र छड प्रयोग गरेर निर्माण गरिएको थियो। पुरातत्व विभागको हस्तक्षेप पछि बनिसकेको संरचना पनि भत्काएर मौलिक ढाँचा र पुरातात्विक मापदण्ड अनुसार पुनःनिर्माण हुँदैछ।

यो मन्दिरको संरचना निकै सानो भएकोले यसमा कुनै बखेडा जरुरी छैन। जस्तो चाह्यो त्यस्तो बनाउन सकिने निकै सानो संरचना हो यो।
तर, प्रश्न के हो भने पुरातत्वले हस्तक्षेप गरेपछि भत्काएर फेरि मन्दिर बनाउँदा पोखरीको भित्तोमा उतिबेलै पुरातत्वले किन हस्तक्षेप गरेन? वा महानगरपालिकाले मन्दिर जस्तै पोखरीको भित्तो पनि भत्काउन पर्यो भने अर्को लफडा हुन्छ भनेर किन समयमै चेतेन? पुरातत्वविद्ले उतिबेलै किन खबरदारी गरेनन्?

कफीसप र रेष्टुरेण्ट प्रचारको मसला
धेरैलाई रानीपोखरी पुनःनिर्माणको मापदण्डमा भन्दा त्यहाँ खुल्ने भनिएको कफी सप र रेष्टुरेण्टबारे चर्चा चुल्याउन मजा आएको छ। कालो माटो, चुना, सुर्खी, मल्लकालिन सभ्यता, मौलिकता जस्ता झन्जटिला र टाढाका शब्दमा भन्दा आकर्षण ‘कफी सप’ र ‘रेष्टुरेण्ट’मै छ।

कफी सप र रेष्टुरेण्ट रानीपोखरीले चर्चेको क्षेत्रमा नभएर शान्ति बाटिकामा निर्माण हुने मेयर शाक्यले प्रष्ट पारेका छन्। उनले बीबीसीसँगको मंगलबारको संवादमा त्यसबारे प्रष्ट पारेका छन्। त्यसैले यतिबेला बहसलाई त्यही कंक्रिट पर्खालमा केन्द्रित गरेर समाधान खोज्नु उपयुक्त हुनेछ।
पोखरीको पिँधमा मार्वल वा ढलान गरेर स्विमिङ पुल जस्तो बनाउने योजना नरहेको पनि मेयरले बताइसकेका छन्। पर्यावरणीय दृष्टिले पनि पिँधलाई पहिलेकै जस्तो यथावत छाड्न उपयुक्त हुने पुरातत्वविद्हरुको राय छ।

मन्त्र एउटै छ– ‘ओली आउ, रानीपोखरी बचाउ।’ यो गुहार हैन। जनमतको आदेश हो र ठूलो दलको कर्तव्य पनि। – Teknarayan

भिडियो

https://youtu.be/X8oWUi0Th7U

– टेकनारायण भट्टराई / डिसी नेपाल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।