एमाले सचिव योगेश भट्टराईले भने,- अब ५० वर्षसम्म नेपाली कांग्रेस सत्तामा आऊदैन
काठमाण्डौ, नेकपा एमालेका सचिव योगेश भट्टराईले अब ५० वर्षसम्म नेपाली कांग्रेस सत्तामा नआउने दाबी गरेका छन् । त्यसैकारण प्रधानमन्त्री शेरबहादुर देउवा जतिसक्दो सत्ता लम्ब्याउने प्रयासमा लागेको उनले आरोप लगाएका छन् ।
नेकपा एमालेको सञ्चार इलाका कमिटीले आइतबार काठमाण्डौमा आयोजना गरेको सम्मान कार्यक्रममा भट्टराईले भने, ‘कांग्रेस अब ५० वर्षसम्म सत्तामा आउन सक्दैन, त्यसैले नकच्चरो बनेर सत्ता लम्ब्याउन खोज्दैछन् ।’ एमाले प्रचार विभाग प्रमुखसमेत रहेका भट्टराईले चुनाव हारिसकको कांग्रेसले सत्ता नछाड्ने नकच्चरो प्रवृत्ति देखाएको आरोप लगाए ।
यस्तै उनले केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेल्सन मण्डेला जस्तो बन्ने अवसर आएको बताएका छन् । पार्टी एकता गरेपछि दुवै नेताले नेल्सन मण्डेलाजस्तै सर्वमान्य नेता बन्नेगरी पार्टीको कार्यकारी भूमिकाबाट विदा लिनु उपयुक्त हुने भट्टराइले सुझाव दिएका छन् ।
उनले भने, ‘ओली र प्रचण्डले आफूले गर्न सक्ने योगदान दिनुभयो, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमहरुले पनि जति योगदन दिनुपर्ने हो दिइसक्नुभएको छ, अब उहाँहरुले अवकाश लिँदा हुन्छ ।’
यस्तै उनले एमाले र माओवादी केन्द्रबीच एकता कसैले रोक्न नसक्ने दाबी पनि गरे ।


