१२ जना डाक्टरहरु एमालेमा प्रवेश !
शनिबार १२ जना डाक्टरहरु नेकपा (एमाले)मा प्रवेश गरेका छन् । राष्ट्रिय चिकित्सक संघ नेपालले राजधानीमा आयोजना गरेको कार्यक्रममा डाक्टरहरु पार्टीमा प्रवेश गरेका हुन्।

एमाले प्रवेश गर्नेहरुमा विभिन्न सरकारी अस्पतालमा कार्यरत डाक्टरहरु पनि छन् । स्वास्थ्य मन्त्रालय अन्तर्गतको पाटन स्वास्थ्य विज्ञन प्रतिष्ठानमा कार्यरत डा शैलेश शाह, प्रसूति गृहका डा अमितकुमार रौनियार, चिकित्सा शास्त्र अध्ययन संस्थानका डा नितिन के अग्रवाल, जनकपुर अञ्चल अस्पतालका डा कुलदीप पाठक, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका डा ज्ञानेन्द्र जोशी, कान्ति बाल अस्पतालमा कार्यरत डा जेनी गौतम एमालेमा प्रवेश गरेका हुन् ।
यसैगरी बी एन्ड बी अस्पतालका हेम महासेठ, जानकी मेडिकल कलेजका डा विजय शंकर प्रसाद शाह, ग्लोबल अस्पतालका डा लुस्यान कुमार यादव औपचारिक रुपमा एमालेमा प्रवेश गरेका छन् ।
कार्यक्रममा डा मधुसुदन पाण्डे, डा विवेक नेपाल र शैलेन्द्र झाले पनि एमाले पार्टी प्रवेश गरेका छन् । उनीहरुलाई एमाले महासचिव ईश्वर पोखरेलले खादा तथा अविर लगाएर पार्टी प्रवेश गराए ।
एमाले निकट डाक्टरहरुको संगठन राष्ट्रिय चिकित्सक संघ नेपालले संघीयतामा स्वास्थ्य क्षेत्रका कार्यदिशामाथि अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा डा महेन्द्र श्रेष्ठले संघीयतामा स्वास्थ्य संरचनाका विषयमा, चिकित्सा शास्त्र राष्ट्रिय प्रतिष्ठानको उपकुलपति डा गणेश गुरुङले संघीयतामा मेडिकल शिक्षा, नेपाल मेडिकल काउन्सिलका विषयमा डा शशी शर्मा र स्वास्थ्य बीमाका विषयमा डा गुणराज लोहनीले कार्यपत्र प्रस्तुत गरेका थिए ।


