उपहार पाएको पाठाबाट बाख्रा पालन, ६ बर्षमै भरियो गोठ
बाख्रा पालनबाट अत्मनिभर बन्दै साप्तिङ्गटार
धनकुटा खबर । बर्षभरी खेतबारीमा गरेको परिश्रमले ३ महिना पनि राम्रोसँग खान नपुग्ने धनकुटाको साप्तीङटारका महिला पछिल्ला वर्षमा बाख्रा पालनबाट मनग्य आम्दानी लिन थालेका छन् ।

६ बर्ष अघि उपहारमा पाएको पाठाबाट बाख्रा पालन सुरु गरेकी धनकुटा साप्तीङ्टारकी सावित्रा खपाङगीको गोठ अहिले बाख्राले भरिएको छ । यही गाउँकी दुर्गा पौडेलको परिवारको आम्दानीको मुख्य स्रोत पनि अहिले बाख्रापालन नै बनेको छ । खपाङ्गी र पौडेल जस्तै आँखिसल्ला गाविसको साप्तीङ्टारका ६ वटा समुहमा आबद्ध एक सय ३२ जना महिला व्यावसायिक बाख्रापालनबाट राम्रो कमाइ गर्न सफल भएका छन् । बाख्रा पालन सुरुगर्नका लागि हेफर नामक संस्थाले सहयोग गरेको स्थानिय बताउछन् ।
समूह नै गठन गरेर व्यावसायिक बाख्रापालनमा लागेपछि स्थानीयको जीविकोपार्जन समेत सहज बनेको छ ।
फस्टाउँदो बाख्रा पालन र यस पेशामा स्थानीय किसानको रुचि देखेपछि जिल्ला पशु सेवा कार्यालय धनकुटाले यो ठाउँलाई बाख्रा उत्पादन स्रोत केन्द्र घोषणा गरेको जिल्ला पशुसेवा कार्यलय धनकुटाका सुचना निमित्त प्रमुख झविन्द्र मरासिनी बताउनुहुन्छ ।
व्यावसायिक बाख्रापालनमा लाग्न चाहनेहरु जमुनापार र स्थानीय खरी जातका बीउ बोका र पाठी खरिदका लागि साप्तीङटार पुग्ने गरेका छन् । प्रशस्त सम्भावना देखेर व्यावसायिक बाख्रापालनमा लागेका यहाँका किसानले ठूला र मझौला फार्म सञ्चालनका लागि सहुलियत दरको ऋण सुविधा उपलब्ध भए व्यवसाय अभैm फस्टाउने मरासिनीको भनाई छ ।


