‘४० रोपनी जमिनमा कागती खेती गरेर बार्षिक २५ लाख ?’
यस्तो छ धनकुटाका कृषक भीम बहादुरको लक्ष्य र कागती खेती...
धनकुटा खबर । धनकुटा डाँडाबजार गाबिसका कृषक भीम बहादुर लिम्बुले बाँझो रहेको ४० रोपनी जमिनमा कागती खेती गरेर बार्षिक २५ लाखको कागती बेच्ने लक्ष राखेका छन् ।

२०६७ साल देखि कागती खेतीमा लागेका बेगना गाउँ वडा नं.४ का ५२ बर्षिया लिम्बुले अबको २ बर्ष पछि ५ लाख दाना कागती उत्पादन गरेर बार्षिक २५ लाख भन्दा बढीको कागती बेच्ने लक्ष रहेको बताए ।
जसका लागि लिम्बुको बगानमा अहिले जिल्ला कृषि बिकास कार्यालयले ०६७ सालमा ७५ प्रतिशत अनुदानमा दिएको स्थानिय ‘तेह्रथुम’ जानतको १ हजार कागतीको बोट रहेका छन् ।
गत बर्ष पहिलो पटक प्रति गोटा ५ रुपैंया सम्मका दरले ७० हजारको कागती बेचेका लिम्बुले यो बर्ष १ लाख भन्दा बढीको कागती बेचेको बताए ।
‘आउने बर्ष लगानी र आम्दानी बरावर हुन्छ’, उनले भने,‘त्यसपछि नाफा हुन शुरु हुन्छ ।’
कागती खेतीका लागि दैनिक ४ सय ज्याला दिएर ५ जना सम्मलाई रोजगार दिईरहेका लिम्बुले कागती बेचेर बार्षिक २० लाख भन्दा बढी कमाउने बताए ।
बगैचा व्यबस्थापनका लागि बार्षिक १ लाख भन्दा बढी खर्चिरहेका लिम्बुले आफ्नो गाउँ गाबिसको दुर्गमको गाउँ भएकाले जमिन बाँझो राखेर यूवाहरु बिदेश जाने चलन बढेपछि केहि गरेर देखाउने उदेश्यले कागती खेतीमा लागेको बताए ।
प्रारम्भमा ५० हजारबाट शुरु गरेका लिम्बुको हाल कागती खेतीमा नीजि ७ लाख र जिल्ला कृषि बिकास बैंक धनकुटाका ४ लाख ५० हजार गरी कुल ११ लाख ५० हजार लगानी रहेको छ ।
हाल सम्म धनकुटाबाट कागती निकासी नभएपनि जिल्ला कृषि बिकास कार्यालय धनकुटाको तथ्यांक अनुसार धनकुटामा बार्षिक २ सय ५५ हेक्टरमा ६ सय १० मेट्रिक टन कागती उत्पादन हुने गर्दछ ।


