कतै जमिन बाँझै, कतै भ्याईनभ्याई ! यस्तो छ धनकुटामा चैते धान उत्पादन अबस्था (भिडियो सहित)
जिल्ला कृषि बिकास कार्यालय भन्छ,- उत्पादन बढ्यो
धनकुटा खबर । धनकुटाका बेसी तथा फाँटका कृषक यतिबेला चैते धान लगाउन ब्यस्त छन् । तर कामदार अभाव, उन्नत जातको बिउ, प्रबिधि ज्ञान सिचाइ सुबिधा अभावका कारण चैते धान उत्पादन गर्ने कृषक समस्यामा परेका छन् ।
धनकुटाको सागुरीगणि गाँउपालिका बडा नम्बर ६ सिम्सुवाका कृषक यतिबेला चैते धान लगाउन ब्यस्त भएका छन् । तर यो गाँउमा चैत्रे धान खेति गर्ने कृषकको संख्या भने बर्षेनी घट्दै गएको छ ।
केहि बर्ष अघि सम्म गाँउका ४० परिवार भन्दा बढिले चैतेधानको खेति गर्ने गरेकोमा अहिले भने करिब १५ परिबारले मात्र चैतेधानको खेति गर्ने गरेका छन् ।

सिम्सुबा जस्तै जिल्लाका अन्य बेसी तथा फाँटमा समेत अबस्था उस्तै छ । सिचाइ सुबिधा, कामदार, पर्याप्त भएका ठाउका कृषकलाइ चैते धान लगाउन भ्याइनभ्याइ भए पनि बाँकि क्षेत्रको जमिन बाँझै रहने गरेको छ ।
यो साल भने पानी समयमा नै परेपनि कामदार अभावका कारण अधिकासं खेत बाँझै राख्न बाध्य भएको सागुरीगणि गाँउपालिका बडा नम्बर ६ सिम्सुवाका कृषक उत्तर लिम्बु बताउनु हुन्छ ।
आघिल्लो आर्थिक वर्षमा १४२५ हेक्टर क्षेत्रफलवाट करिव ३७२० मेट्रीकटन चैते धान उत्पादन भएको थियो । यो बर्ष भने १५७५ हेक्टर क्षेत्रफलवाट ६०६४ मेट्रीकटन मात्र चैते धान उत्पादन भएको जिल्ला कृषि बिकास कार्यालय धनकुटाले जनाएको छ ।
सिचाई सुबिधा, मौसम अनुकुल, मल बिउको सहज उपलब्धता तथा जिल्ला कृषि बिकास कार्यलय धनकुटाले बृहत्तर धान उत्पादन कार्यक्रम सञ्चालन गरेको कारण उत्पादन बढेको कार्यालयले जनाएको छ ।
जमिनको सदुपयोग गर्न सिचाइ सुबिधा, उन्नत बिउबिजन, प्राबिधिक सहयोग भए चैते धानको उत्पादन र क्षेत्रफल बढ्ने सिम्सुवाका कृषक खेल बहादुर लिम्बुको भनाइ छ ।
जिल्लाको करिब २५ सय हेक्टर क्षेत्रफल चैतेधान उत्पादनको लागि योग्य भए पनि करिब ६० प्रतिसत क्षेत्रफलमा मात्र चैतेधानको खेति हुने गरेको जिल्ला कृर्षि विकास कार्यलयले जनाएको छ।


