भ्रष्टाचार बढ्नुमा दोषी को ?

काठमाडौँ, १८ वैशाख । भ्रष्टाचार बढ्नुमा राजनीतिक दल र कर्मचारीतन्त्र दोषी देखिएको विभिन्न राजनीतिक दलका नेताले बताएका छन् ।

नेपाल विद्यार्थी क्लबले आज यहाँ आयोजना गरेको ‘नेपालमा भ्रष्टाचार नै छैन ?’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँहरुले राजनीतिक दल र कर्मचारीतन्त्रबाट हुने भ्रष्टाचार रोक्ने हो भने भ्रष्टाचार धेरै कम हुनेछ भन्नुभयो ।

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले राजनीतिलाई समाज सेवा नभएर ठेकदारी प्रथा बनाएकाले भ्रष्टाचार बढेको उल्लेख गर्दै राजनीतिक पार्टीलाई नियमन गरेर भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिने बताउनुभयो ।

पार्टीलाई नियमन गर्न संसद्बाट नै छुट्टै कानून बनाउन आवश्यक छ, उहाँले भन्नुभयो, “पार्टीको आर्थिक नियन्त्रण नीति बनाउन आवश्यक छ, त्यसो हुन सके मात्र पार्टीले गर्ने भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिन्छ ।”

नेपाली काँग्रेसका नेता मीनबहादुर विश्वकर्माले राजनीतिक दलले श्रम नगरेर भ्रष्टाचार गर्ने गरेको भन्दै श्रमको सम्मान नगर्दासम्म भ्रष्टाचार नै आयस्रोत बन्ने गरेको बताउनुभयो ।

नेपालमा परिस्थितजन्य कारणले गर्दा भ्रष्टाचार हुने गरेको चर्चागर्दै उहाँले नेपाली समाज भ्रष्टाचारको उत्प्रेरकको रुपमा रहेको धारणा व्यक्त गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले नेपालका राजनीतिक दलले भ्रष्टाचारविरुद्ध कहिल्यै कुरा उठाउन नसकेका कारण भ्रष्टाचार बढेको बताउँदै राजनीतिक दल र कर्मचारी प्रशासनमा जनताको निगरानी बढाई भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिन्छ भन्नुभयो ।

विवेकशील साझा पार्टीका नेता गोविन्द न्यौपानेले राजनीतिक दलले नै भ्रष्टाचारलाई प्रश्रय दिएको बताउनुभयो ।

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले युवा विद्यार्थी नै भ्रष्टाचारविरुद्धको अभियानमा लाग्नुपर्नेमा जोड दिनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।