भारतीय प्रधानमन्त्रीलाई सम्मान गारद : पशुपतिमा भारतका प्रधानमन्त्री मोदीको विशेष पूजा तयारी पूरा

काठमाडौँ, २८ वैशाख । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारद(गार्ड अफ अनर) प्रस्तुत गरेको छ ।

सैनिक मञ्च टँुडिखेलमा आयोजित विशेष समारोहमा सम्मान गारदका साथ १९ तोपको सलामीसमेत दिइएको थियो । विशिष्ट अतिथिको सम्मानमा सम्मान गारद प्रस्तुत गर्ने प्रचलन छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदी सैनिक मञ्च पुग्नुहुँदा स्वागत गर्नुभएको थियो । सैनिक मञ्चमा सम्मान गारदबाट सम्मानित हुने विशिष्ट पाहुनामा भारतका प्रधानमन्त्री मोदी दोस्रो व्यक्ति हुनुहुन्छ । यसअघि पाकिस्तानका प्रधानमन्त्री शाहीद अब्बासी खकानको सम्मानमा पनि नेपाली सेनाले सैनिक मञ्च टँुडिखेलमा सम्मान गारद प्रस्तुत गरेको थियो । समारोहमा मन्त्रिपरिषद्का सदस्यका साथै प्रधानसेनापतिको पनि उपस्थिति थियो ।

नेपालको दुईदिने भ्रमणका क्रममा भारतका प्रधानमन्त्री मोदी आज अपराह्न यहाँ आइपुग्नु भएको हो । यसअघि जनकपुरमा आयोजित विशेष समारोहमा नेपाल सरकारका तर्फबाट रक्षामन्त्री ईश्वर पोखरलले उहाँलाई स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री मोदीको सम्मानमा प्रदेश नं २ को राजधानी जनकपुरमा आज नागरिक अभिनन्दनसमेत भएको थियो । त्यसअघि उहाँले रामजानकी मन्दिरमा विशेष पूजार्चना गर्नुभएको थियो ।

विशेष विमानमा सवार भएर जनकपुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि त्यहाँस्थित अतिविशिष्ट कक्षमा प्रधानमन्त्री मोदीलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्वागत गर्नुभएको थियो । सम्मान गारदलगत्तै उपराष्ट्रपति नन्दबहादुर पुनसँग उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा भारतीय प्रधानमन्त्रीले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

पशुपतिमा भारतका प्रधानमन्त्री मोदीको विशेष पूजा तयारी पूरा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पशुपतिनाथमा विशेष पूजा एवं दर्शनका लागि सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

मुक्तिनाथमा पूजा एवं दर्शनपछि शनिबार बिहान साढे दश बजेपछि प्रधानमन्त्री मोदी पशुपतिनाथ आइपुग्नु हुने कार्यक्रम छ । भारतीय प्रधानमन्त्रीको स्वागतका लागि पशुपतिमा सरसफाइ, स्वागतद्वार निर्माण लगायत सबै तयारी पूरा भएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो ।

मोदीले यसअघि २०७१ साउन १८ गते सोमबार पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गर्नुभएको थियो । पूजापछि उहाँले पशुपति मूल मन्दिरको जीर्णोद्वारका लागि भारतीय रुपैयाँ २५ करोड, सरसफाइका लागि रु पाँच करोड सहयोग घोषणा गर्नुभएको पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिनुभयो ।

त्यसबेलाको घोषणाको सहयोग मन्त्रालयले दिनुपर्ने अनुमतिको प्रक्रिया पूरा नभएकाले रोकिएको उहाँले सुनाउनुभयो । सहयोगसम्बन्धी त्यो प्रस्ताव अहिले पनि अर्थ मन्त्रालयमा रोकिएको कोषले जनाएको छ ।

चार वर्षअघिको भारतीय प्रधानमन्त्री मोदीको पशुपतिनाथ मन्दिरमा भएको पूजाका अवसरमा १२ वर्ष अघिदेखि रोकिएको नेपाल–भारत मैत्री धर्मशाला निर्माणको बाटो खुला भयो । धर्मशाला निर्माण हाल अन्तिम चरणमा पुगेको छ । कोषले उपलब्ध गराएको १६ रोपनी जग्गामा भारत सरकारले तीन तारे होटलस्तरको धर्मशाखा निर्माण गरिरहेको छ ।

धर्मशालामा ४०० जनाको क्षमता छ । धर्मशालाको निर्माणपछि पशुपतिमा विश्वका धार्मिक पर्यटकको संख्या बढ्ने विश्वास गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖