एनजिओको जागिर छाडेर अर्ग्यानिक खेती !, ५० भन्दा बढी बाली लगाएर ‘कृषिको स्वर्ग’ बनाउँदै धनकुटाका यमकुमार !
धनकुटा खबर । धनकुटा छिन्ताङ डाँडा गाउँका ३६ बर्षिया यमकुमार राईको ३० रोपनी जमिन एक किसानका लागि स्वर्ग झैं स्थान हो । उनको हरेक जमिनमा अहिले ५० भन्दा बढी जातका आग्र्यानिक सब्जी,मसला,फलफुल देखि बिभिन्न जडिबुटीले भरिभराउ रहेको छ ।
५ बर्ष अघिबाट बहुबाली शुरु गरेका राईले ४ सय बोट सुन्तला, १ सय बोट रुद्राक्ष,१ सय बोट एभोकाडो,१ सय बोट किवी सहित १२ रोपनीमा टमाटर लगाएत हरेक १ वा २ रोपनीमा आलु,सिमि,काउली,साग लगाएतका सब्जीहरु लगाएका छन् ।
गत बर्ष देखि वालिङ मिश्रित फलफुल नर्सरी फर्म दर्ता गरेका राईका हरेक जमिनमा नयाँ बिरुवा,आग्र्यानिक सब्जी र फलफुल देख्न पाईन्छ ।
बिषदी र बाली सम्बन्धि प्राबिधिक समेत रहेका उनको फर्ममा निम,टिमुर,चितेपाती लगाएतका प्राकृतिक बिषदीहरु देख्न पाईन्छ । हरेक खेर गईरहेको बट्टाहरुमा नयाँ जातका सबजीहरु उमारिहेका उनको फर्ममा ५० भन्दा बढी बहुबाली खेतीका नमुनाहरु देख्न सकिन्छ ।

३ रोपनीमा अलैची लगाएका उनले १६ जातका तरकारी,१३ जातका फफुल,६ जनतका मसला बाली र बिभिन्न फलफुलका नरसरी समेत गरिरहेका छन् । बोधिचित्त,अगरउड,सेतो चाँप सहित ७० बोट पाउलोनिया लगाएका उनले चिया,कफी खेती समेत गरेका छन् ।
धनकुटाको उक्तरपानी प्राबिधिक शिक्षालयको कृषि प्राबिधिक अध्ययन पछि १२ बर्ष बिभिन्न गैर सरकारी संस्थामा काम गरेपनि त्यमा मन नअडिएपछि आफू कृषि पेशामा लागेको राई बताउँछन् ।
प्रारम्भमा रु १ लाखबाट यो पेशा शुरु गरेका उनले अहिले कुल लागत १ करोड पुगेको जानकारी दिए । प्रारम्भिक बर्षहरुमा उनले बार्षिक १ लाख ५० हजार सम्म कमाई गरेपनि हाल ५ लाख सम्म कमाई गरिरहेको बताए ।
गत बर्ष ९ लाखको सब्जी र नर्सरी कारोबार गरेर ६ लाख रुपैंया कमाएका उनले यो साल भने ४ लाख मात्र कमाए । यो साल ७ लाख कमाउने लक्ष रहेपनि टमाटरको मुल्य गिरावटसंगै आम्दानीमा घाटा भएको उनले बताए ।

हाल साताहिक रुपमा २० हजार बरावरको आग्र्यानिक तरकारी बेचीरहेका उनले अबको तीन बर्षपछि सबै बालिहरुले आमदानी दिएपछि बार्षिक १० लाख कमाउने बताए ।
जागिर नसक्नेले मात्र खाने बताउने उनले अल्पकालिन र दीर्घ कालिन रुपमा कृषिलाई स्वत्रन्त्र पेशाका रुपमा बिकास गर्न आफू यो पेशामा लागेको बताए । उनले भने–‘अहिले सब्जी खेतीबाट लगानी उठिरहेको छ । बिस्तारै उमेर ढल्कंदै जाँदा काम गर्न नसक्ने उमेरमा फलफुल र जडिबटीबाट आम्दानी हुन्छ ।’
‘जति पढेपनि बिदेश गएर गुलामी गर्नु भन्दा आफ्नो काम आफैं मालिक बन्नुपर्छ भन्ने सोंचले यो पेशामा लागे’–उनले धनकुटा खबरलाई भने ।
हाल ५ जनालाई रोजगार दिईरहेका उनको यो उदाहरणिय काम देखेर सहिदभूमी गाउँपालिका वडा नं. ३ ले उनलाई प्रोत्साहन स्वरुप नगद रु ५० हजार अनुदान समेत दिएको छ ।


