झरीले छेकेन नेपाल आइडलको अडिसन, यसरी भव्य रूपमा सम्पन्न
वीरगन्ज : मौसमले साथ नदिए पनि गायनमा रुचि राख्ने युवायुवतीको उत्साहजनक सहभागिताले शुक्रबार वीरगन्जमा ‘नेपाल आइडल’ को अडिसन भव्य रूपमा सम्पन्न भएको छ। बिहानै देखि झरी परे पनि अडिसनमा आधा दर्जनभन्दा बढी जिल्लाका सहर र गाउँबाट सयौं युवायुवतीले सहभागिता जनाए। वीरगन्जको चिनी मिलस्थित बीआईटी कलेज परिसरमा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म अडिसन चलेको थियो।
अडिसनमा पर्सा जिल्लाका साथै छिमेकी बारा, रौतहट, सर्लाही, मकवानपुर, चितवन, कास्की, सुनसरी, काठमाडांै, दार्चुला र रुकुमबाट समेत युवा युवतीले सहभागिता जनाएको नेपाल आइडलका निर्देशक एलन श्रेष्ठले बताए । ‘बिहानै देखि झरी परेका कारण सहभागी कम हुने हुन् कि भन्ने डर लागिरहेको थियो’, श्रेष्ठले भने, ‘तर झरीका बाबजुद पनि अडिसनस्थलमा सयौंको संख्यामा युवायुवतीले सहभागिता जनाए।
हामी वीरगन्जको अडिसनबाट सन्तुष्ट मात्र होइन, एकदमै खुसी छौं।’ मध्याह्न अडिसनस्थल पुगेका आइडलका प्रमुख निर्णायकद्वय संगीतकार न्ह्यु वज्राचार्य र गायिका इन्दिरा जोशीले पनि वीरगन्जको अडिसनमा गायनमा रुचि राख्ने युवा युवतीको उत्साहजनक सहभा गिता भएको बताए।


