‘निजगढ विमानस्थलको काम चाँडो शुरु गरौँ’

काठमाडौं । मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्विकल्प आयोजना भएको भन्दै तत्काल काम शुरु गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् ।

निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणबारे आज सरोकारवालासँग भएको विशेष छलफलका वक्ताले विभिन्न बहानामा विमानस्थल निर्माण ढिलाइ भएमा थप विवाद र उल्झन देखापर्ने खतरा औँल्याउँदै आयोजनाको काम चाडो शुरु गर्नुपर्नेमा जोड दिएका हुन् । साथै उनीहरुले वातावरण विनाशको नाममा केहीले बहानाबाजी गरेर विमानस्थल निर्माणमा अवरोध खडा गरिरहेको भन्दै विकासलाई प्राथमिकतामा राखेर वातावरणका कुरालाई पनि सम्बोधन गर्नेगरी आयोजना अघि बढाइनुपर्ने सुझाए ।

सहभागी बारा र पर्साका सांसदहरुले एकै आवाजमा विमानस्थल निःविकल्प भएको र वातावरणीय पक्षको नाममा आयोजनालाई अलमलमा पार्न नहुने धारणा राखे । विज्ञहरुले नेपालमा मात्र नभई अन्य मुलुकमा पनि विमानस्थललगायत विभिन्न विकासका ठूला आयोजना निर्माणमा केही न केही क्षति हुने गरेको तथ्य प्रस्तुत गर्दै वातावरणकै बहानामा मुलुकको अर्थतन्त्रलाई कायापलट गर्ने अयोजनालाई कुनै पनि पक्षबाट अवरोध पु¥याउन नहुने बताए ।

कार्यक्रममा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले अहिले जति पनि वादविवादका विषय आइरहेको छ, त्यो आयोजना शुरु नहुनुको परिणति हो भन्दै विमानस्थलको काम अघि बढाउन सरकार तथा सरोकारवाला पक्षको प्रतिबद्धता चाहिने औँल्याए । ‘देशको अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्ने यत्रो महत्वपूर्ण आयोजना शुरु हुन किन ढिलाइ भइरहेको छ, जति लम्बियो विवादहरु बढ्दै जान्छन् त्यसैले विमानस्थल निर्माण कार्यलाई छिटो अघि बढाउ ढिलो गरे देशलाई घाटा हुन्छ’, उनले भने ।

संसद्को अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले पर्यटनमार्फत आर्थिक समृद्धि हालिस गर्ने देशकै ठूलो र महत्वपूर्ण आयोजना निजगढ विमानस्थ निर्माण कार्यमा अलमल गर्ने समय नभएको बताए । उनले राष्ट्रिय गौरवको आयोजनामा अनेक बखेडा झिकेर विवादमा पार्न नहुने भन्दै यसलाई सफल बनाउन सबै पक्षको सहयोग चाहिने बताए । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले राष्ट्रिय हितको महत्वपूर्ण आयोजनालाई सबै पक्ष मिलेर अघि बढाउनुपर्नेमा जोड दिए ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले अब पनि निजगढ विमानस्थलको आवश्यकता, महत्व र औचित्यका सन्दर्भमा समय खर्चनुभन्दा निर्विकल्पको रुपमा आयोजनालाई अघि बढाउनुपर्नेमा जोड दिए । पूर्वमन्त्री उमाकान्त चौधरीले मुलुकको अर्थतन्त्रको गति बढाउने र राष्ट्रिय एकताको आधार पनि तय गर्ने महत्वपूर्ण निजगढ विमानस्थल निर्माणलाई कुनै पनि बाहानामा पछाडि धकेल्न नहुने बताए । पूर्वमन्त्री फरमुला मन्सुरले आर्थिक प्रभाव पार्ने ठूलो आयोजनाबारे विवादमा नअलमलिकन काम चाडो शुरु गर्नुपर्नेमा जोड दिए ।

सांसद एकवाल मियाले ‘विमानस्थलको चाँडो शिलान्यासको काम गरिए अरु समस्या क्रमशः समाधान हुँदै जाने बताए । सांसदद्वय षेशचाद तारा र डा.पुष्पा कर्णले वातावरणभन्दा पहिले आर्थिक विकास मुलुकका लागि अपरिहार्य रहेको भन्दै उठेका विषयलाई पनि सम्बोधन हुने गरी आयोजनाको काम अघि बढाइनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जितपुर सिमरा उपमहानगरपालिकाका मेयर डा कृष्ण पौडेलले निजगढ आयोजनाअघि बढाउन स्थानीय सरकारको पूर्ण साथ सहयोग रहने प्रतिबद्धता जनाए । वातावरणविद् रिकी महर्जनले वातावरणीय हिसाबले कम क्षति हुने गरी आयोजनाको कामलाई तत्काल अघि बढाइनुपर्नेमा जोड दिए। विज्ञद्वय डा.गोविन्दबहादुर थापा र डा सुरेन्द्र उप्रेतीले देशको निःविकल्प निजगढ विमानस्थललाई वातावरणकै नाममा अलमलमा पार्न नहुने बताए ।

अर्थविद् डा शङ्कर शर्माले सबै हिसाबले उपयुक्त निजगढ विमानस्थल चाडो गरी आर्थिक विकास गर्ने निःविकल्प आयोजना भएको बताए । पूर्वसचिव वीरेन्द्र देउजाले देशको अर्थतन्त्रसँग जोडिएको निजगढ विमानस्थल निर्माण तत्काल अघि बढाइनुपर्नेमा जोड दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले विमानस्थल निर्माणका लागि सरोकारवाला मन्त्रालयसँग समन्वय गरी रुख कटानको विषय अघि बढ्ने चरणमा रहेको आयोजनाको विस्तृत परियोजना प्रस्ताव आह्वानको अन्तिम तयारीमा रहेको जानकारी दिए । उनले बाहिर हल्ला भए जस्तो नभई १९ हेक्टर क्षेत्रफलमा निर्माण हुने विमानस्थल भित्र पर्ने साना ठूला गरी झण्डै पाँच लाख मात्रै रुख कटान हुने बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले देशको पर्यटन, उद्योग, व्यापारलाई बढोत्तरी हुने महत्वपूर्ण आयोजना तत्काल अघि बढाइनुपर्नेमा जोड दिए । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।