धनकुटामा १०० रुपैंयामा पेट भरी सुन्तला खान पाईने
धनकुटामा माघ १ र २ गते सुन्तला टिप्ने मेला
धनकुटा खबर । राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्लेमा यहि माघ १ र २ गते जम्मा दुई दिन सुन्तला टिप्ने मेलाको आयोजना गरिएको छ ।
अनुसन्धान कार्यक्रमले सुन्तला पाकेको वेलामा आन्तरिक पर्यटकहरु आउने र केन्द्रमा आएका अधिकांश पर्यटकले आफै सुन्तला टिप्ने रहर गर्ने गरेका कारण यो वर्ष सुन्तला टिप्ने मेला लगाईएको अनुसन्धान केन्द्रका प्रमुख उमेश आचार्यले जानकारी दिनु भयो ।
सुन्तला टिप्ने मेलामा आएकाहरुले अनुसन्धान केन्द्रले बनाएको नियम भने पालना गर्नु पर्ने आचार्यले बताए । उनका अनुसार सुन्तला टिप्न जानु अघि वयष्कका लागि प्रति व्यक्ति १ सय रुपैया प्रवेश शुल्क तोकिएको छ भने वालवालिकाका लागि प्रति व्यीक्त ५० रुपैया प्रवेश शुल्क तोकिएको छ । यसरी तोकिएको दरमा प्रवेश शूल्क लिएकाहरुले वगैचामा गई आफै सुन्तलाको वोटमा चढेर सुन्तला टिप्दै पेट भरी खाना पाउनेछन् ।
तर साथमा लिएर जान भने पाउने छैनन् । त्यसो त साथमा लिएर जान चाहनेहरुका लागि पनि छुट्टै व्यवस्था गरिएको अनुसन्धान केन्द्र प्रमुख आचार्य वताउनुहुन्छ । उहाँका अनुसार यदि आफै सुन्तला टिपेर लान मन हुनेहरुलाई भने प्रति व्यक्ति दुई सय पचास रुपैयाको अर्को टिकट लिनुपर्ने हुन्छ । उक्त टिकट लिनुहुनेहरुलाई पाँच किलो सम्म अट्ने झोला दिईन्छ र त्यस झोलामा अट्ने सम्मको सुन्तला आफै टिपेर लैजान सक्ने नियम रहेको आचार्यले जानकारी दिए ।
यसरी झोलामा सुन्तला टिपेर लैजानका लागि भने निश्चत कोटा निर्धारण गरिएको कार्यक्रमले जनाएको छ । अनुसन्धान केन्द्रले जनाएअनुसार सुन्तला झोलामा लैजानका लागि भने जम्मा पाँच सय जनाको मात्र कोटा निर्धारण गरिएको छ । सुन्तला सवैलाई पुराउन नसकिने भएका कारण झोलामा लैजानेहरुका लागि भने निश्चित कोटा निर्धारण गरिएको हो ।


