यसरी नाचिन्छ ‘शेर्पा स्याफ्रु’ – भिडियो सहित
धनकुटाको हिलेमा सञ्चालित 'शेर्पा स्याफ्रु' सम्वन्धि तीन महिने तालिम सम्पन्न
धनकुटा खबर । नेपाल शेर्पा संघ धनकुटा नगर कमिटीको आयोजनामा हिलेमा सञ्चालित शेर्पा भाषाको गीतमा नृत्य गर्ने (शेर्पा स्याफ्रु) सम्वन्धि तीन महिने तालिम आज सम्पन्न भएको छ ।
धनकुटा नगरपालिका वडा नं १ हिले को आर्थिक सहयोगमा भएको तालिम समापन कार्यक्रममा वोल्दै १ नं वडाध्यक्ष निरेन तामाङले नेपालका विभिन्न समुदायका मानिसले आ–आफ्नो पहिचान जोगाउन सके आफ्नो अस्तित्व संरक्षण गर्न सहयोग पुग्ने वताउनुभएको छ ।
धेरै जातजाती र भाषाभाषीका मानिसहरु भएपनि सवै मिलेर वस्नु नै नेपालीको विषेशता भएको भन्दै उहाँले यहाँका सवै जातजाती तथा समुदायले आफ्नो भाषा संस्कृती एवम् पहिचान संरक्षण गर्न सके अस्तित्व जोगिने वताउनुभयो ।

उहाँले दिन प्रतिदिन विविध कारणले यहाँका आफ्नै सस्कार संस्कृती भएका समुदायहरुले पनि परम्परा,संस्कृती भूल्दै गएको र पश्चिमा सस्कृती भित्रदै गएको वताउनुभयो । जातिय संस्कार संस्कृती संरक्षणका लागि संस्कारको नाममा रहेका नकरात्मक कुरालाई छोड्दै सकरात्मक कुराहरुको विकास गर्दै लानु पर्ने र सवै वर्ग समुदायका नेपालीलले आफ्नो राम्रो सस्कार नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानु पर्ने वताउनुभयो ।
त्यस्तैगरी नेपाल आदीवासीजनजाती जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राईले आदीवासी जनजातीहरुको अधिकार अहिले गुमीरहेको वताउनुभयो । संविधान मै उल्लेखित अधिकारहरुलाई समेत अहिलेको सरकारले खुम्च्याउदै लगेको भन्दै उहाँले आफ्नो हक अधिकार पुन स्थापनाका लागि आदीवासीजनजातीहरु आन्दोलन गर्न पनि तयार हुनुपर्नेमा जोड दिनुभयो । यदी आफ्नो अधिकारका लागि वोल्न सक्दैन र अरुले जे भन्छ त्यही मात्र गर्छ अझ राजनीतिक दलको पछिमात्र लाग्छ भने त्यो २१ औ शताव्दिको आदीवासी जनजाती हुन नसक्ने टिप्पणी गर्नुभयो ।
तालिममा सिकेको कला लाई निरन्तरता नदिए विर्सन सक्ने प्रति सचेत गराउदै उहाँले साप्ताहिक रुपमा समूहमा जम्मा भई अभ्यासलाई निरन्तरता दिन सहभागीहरुलाई अनुरोध पनि गर्नुभयो ।

शेर्पा संघका नगर कमिटी अध्यक्ष पासाङ शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्व केन्द्रिय सदस्य आङदावा शेर्पा, १ नं प्रदेश सदस्य पासाङ शेर्पा लगायतले आफ्नो समुदायको ल्होसार पर्वको वेला दिईने गरेको सार्वजनिक विदा सरकारले कटौती गरेको प्रति गुनासो गरेका थिए ।
वडावाट प्राप्त र शेर्पा संघ नगर कमिटी कै गरी जम्मा ६५ हजार लगतमा सञ्चालित तीन महिने तालिममा शेर्पा समुदायका १२ दिदीवहिनीलाई ङवाङ शेर्पाले प्रशिक्षण दिनुभएको थियो । तालिममा सिकेको केही शेर्पा नृत्य कार्यक्रममा पनि प्रस्तुत गरिएको थियो ।


