आज २८५६ औँ सोनाम ल्होछार मनाइदै
काठमाडौ । सोनाम ल्होछार तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथीको दिन मनाइने सोनाम ल्होछार र चिनिया नयाँ बर्ष एकै दिन मनाइन्छ ।
तामाङ समुदायको सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुने गर्छ । मञ्जुश्री पात्रो शुरु भएको २८५६औँ वर्ष पूरा भएको छ । ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको जानकारहरु बताउँछन् ।
ल्होछारका अवसरमा आज नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्दैछ । सोनाम ल्होछार महोत्सवका नाममा तामाङ खाना, भेषभूषा, कला संस्कृति लगायतको प्रदर्शन गरिने जनाइएको छ ।


