झिमरुकमा प्रयोगात्मक तरकारी खेती

प्युठान /प्युठानको झिमरुक गाउँपालिकाले कृषि तालिम तथा नर्सरी प्रदर्शनी केन्द्र सञ्चालन गरेको छ । गत वर्षको माघदेखि गाउँपालिकाको केन्द्र नजिकै वडा नं ४ स्थित भ्यागुतेमा केन्द्र सञ्चालनमा ल्याएको हो । पालिकाले चार रोपनी जग्गा लिजमा लिई प्रदर्शनी केन्द्रमा कृषकलाई तालिमसँगै विभिन्न तरकारी उत्पादन गर्दै आएको गाउँपालिकाका कृषि शाखा प्रमुख टेकबहादुर विकले जानकारी दिए । अघिल्लो वर्ष अढाइ रोपनीमा सञ्चालन गरिएको फार्म यस वर्ष चार रोपनीमा विस्तार गरिएको उनले बताए ।

पालिकाले कृषकलाई विभिन्न कृषिसम्बन्धी तालिम दिए पनि किसानले खेती नगरेपछि आफैँ जग्गा लिजमा लिई प्रयोगात्मकका लागि खेती गरेको उनले बताए । उनले भने, “अघिल्ला वर्षमा तालिम धेरैपटक दियौँ, तर किसानले तालिमपछि खेती गर्नुभएन ।” पहिले दिएका तालिम कोठामा मात्रै सीमित भएपछि यसलाई व्यवहारतः खेती गर्न प्रदर्शनी केन्द्र सञ्चालनले सहयोग पुर्याएको उनको भनाइ छ । प्रयोगात्मक कृषि तालिम सञ्चालन भएसँगै कृषि गर्न इच्छुक कृषक मात्र तालिममा सहभागी हुने गरेको उनले बताए ।

पालिका क्षेत्रभित्र सधैँ बाहिरबाट आएको तरकारीमा आत्मनिर्भर हुने देखिएपछि यस क्षेत्रलाई तरकारीमा आत्मनिर्भर बनाउन थप टेवा पुर्याउने विश्वास पालिकाले लिएको छ । पालिकाले सञ्चालन गरेको प्रदर्शनी केन्द्रमा हाल टमाटर, च्याउ, आलु, गाँजर, धनिया, भान्टा, मुलालगायतका तरकारी उत्पादन भइरहेका छन् । त्यस्तै हाललाई प्याज र कोभीका बेर्ना उत्पादन गरिएको छ भने मौसमअनुसारका बेर्नाहरुसमेत राख्ने गरिएको उनले बताए ।

त्यसमध्ये टमाटर, काउली, भान्टा, धनियाँ बिक्रीसमेत भइरहेको छ । बजार क्षेत्रमा भन्दा केन्द्रमार्फत केही सहुलियतमा तरकारी बिक्री गर्दै आएकोसमेत उनले बताए । अबको केही समयमा काँक्रा, करेला लगाउने तयारी भएको उनको भनाइ छ । उत्पादित तरकारी केन्द्रबाटै बिक्री वितरण हुँदै आएको छ ।

पालिकाले अघिल्लो आर्थिक वर्षमा केन्द्र सञ्चालनका लागि रु चार लाख ७० हजार बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा रु दुई लाख बजेट विनियोजन गरेको कृषि शाखा प्रमुख विकले बताए । अघिल्लो आवमा तरकारी बिक्री वितरणबाट रु ९४ हजार ५०० र चालु आवको हालसम्म करिब रु ३५ हजार बराबरको तरकारी बिक्री गरेको उनले बताए । तरकारी बिक्रीबाट आएको रकम पालिकाको खातामा राख्ने गरिएको छ । पालिकाभित्र २०७ वटा कृषि समूह तथा कृषि तथा पशुपक्षी फार्म छन् । पकेट क्षेत्रको आधारमा कृषक छनोट गरिएको छ । मौसमीसँगै बेमौसमी खेतीलाई पनि प्राथमिकता दिने पालिकाले जनाएको छ ।

आलु पाठशाला सञ्चालन

पालिकाको कृषि शाखाले हाल आलु पाठशाला सञ्चालन गरेको छ । आलु लगाउनेदेखि आलु लगाउने विधि सिकाउनका लागि पाठशाला सञ्चालन गरिएको हो । पाठशालामा २५ सक्रिय कृषक सदस्य सहभागी छन् । गत कात्तिक ३ गते आलु रोपण गरिसकेपछि प्रत्येक हप्ता प्रदर्शनी फार्ममा सहभागी भई आलु लगाउनुका साथै यसको संरक्षण गर्ने विषयमा ज्ञान लिएको समूहका अध्यक्ष भेषा पोखरेलले बताए । उनले भने, “गत कात्तिक ३ गते एक क्विन्टल आलु लगाएका थियौँ, हाल प्रत्येक हप्ता आएर आलुको निरीक्षण गर्छौँ ।”

पहिले परम्परागतरूपमा ड्याङ नपारी आलु लगाउने गरे पनि हाल ड्याङ पारेर आलु लगाउन सिकेको उनले बताए । घरमा भन्दा यहाँको आलु राम्रो भएको उनको भनाइ छ । गाउँपालिकाले आफ्नै क्षेत्रमा तरकारी खेती सञ्चालन गर्नुले यहाँका किसानलाई फाइदासमेत पुगेको उनले बताए । आलु पाठशाला १६ हप्तासम्म सञ्चालन गरिने कृषि शाखा प्रमुख विकले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।