बाख्रा पालनबाट गरे वर्षमै ९० लाख आम्दानी

कास्की, कास्कीको पोखरा महानगरपालिका-२० मौजागाउँका किसानले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन्।

जिल्लामा बाख्राको पकेट क्षेत्रसमेत घोषणा गरिएको मौजाका कृषकले बाख्रापालनबाट वर्षमा सबै खर्च कटाएर ९० लाख कमाइ गरेका छन्।

मौजामा विसं.२०६२ देखि व्यावसायिक बाख्रापालन शुरु गरिएको हो। ०६७ मा यहाँ बाख्रापालन समूह गठन गरियो। विसं २०७१ मा मौजा बाख्रापालक कृषि सहकारीमार्फत अधिकांश गाउँलेले व्यावसायिक बाख्रापालन शुरु गरे। सहकारीअन्तर्गत यहाँका ४० कृषकले बाख्रापालन गर्दै आएका मौजा बाख्रापालक कृषि सहकारी संस्थाका अध्यक्ष दुर्गाबहादुर गुरुङले जानकारी दिए। सहकारीमार्फत हाल गाउँमा दुई हजार पाँच सय बाख्रा पालिएको छ।

सहकारीमा एक सय सदस्य आबद्ध भए पनि अन्यले भैँसी, गाई तथा तरकारी खेती गरेका छन् । यहाँका कृषकले खरी, जमुनापारी, सिनाललगायत जातका बाख्रा पाल्ने गरेका छन् । साना फार्ममा १० तथा ठूलामा २०० वटासम्म बाख्रा पालिएको छ।

‘बाख्रापालनबाट हामी यहाँका सबै कृषक सन्तुष्ट छौँ । आफ्नै ठाउँमा बसेर यो पेशाबाट वार्षिक ९० लाख हाराहारीमा आम्दानी भएको छ’, सहकारीका अध्यक्ष गुरुङले भने, ‘बजारको कुनै समस्या छैन, वडा कार्यालयलगायतका सरकारी निकायबाट समेत राम्रो सहयोग पाएका छौँ।’

यहाँका ठूला बाख्रापालक कृषकले वर्षमा बाख्रा पालनबाट १५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्। जसबाट खर्च कटाएर वर्षमा छ लाख बचत हुने गरेको गुरुङ बताउँछन्।

यहाँको बाख्राको प्रमुख बजार पोखरा हो । मागअनुसार गाउँबाटै गाडीमा बाख्रा बिक्रीका लागि पठाउने गरिएको छ । खरी र बोयर जातको क्रस गरिएको बोका प्रजननका लागि कास्कीबाहेक पर्वत, बागलुङ, स्याङ्जालगायतका क्षेत्रका कृषकसमेत खरिदका लागि आउने गरेका सहकारीले जनाएको छ।

प्रजननको बोका प्रतिकेजी एक हजार तथा अन्य खसी बोका ६५० प्रतिकेजीका दरले फार्मबाटै बिक्री हुने गरेको अध्यक्ष गुरुङले जानकारी दिए। पशुपालनबाट राम्रो आम्दानी भएपछि पछिल्लो समय युवाहरुसमेत यसतर्फ आकर्षित छन्। विगतमा सडक सुविधा नहुँदा विकट रहेको यस ठाउँमा अहिले गाउँसम्मै ग्राभेल सडक निर्माण भइरहेको छ।

यातायातको सुविधा र उत्पादित कृषि उपज बजारसम्म लैजान सहज भएपछि बाख्रा, भैँसीपालन र तरकारी खेती गर्नेहरुको सङ्ख्या बढिरहेको स्थानीयवासी बताउँछन्। बाख्रापालनबाट आफूहरुले राम्रो आम्दानी गरे पनि राज्यले दिने अनुदान सहयोग वास्तविक कृषकसम्म नपुगेको उनीहरुको गुनासो छ।

कतिपय कृषकले अनुदान लिनकै लागि मात्र एक÷दुई वर्ष पशुपालन गर्ने अनि अनुदान आएपछि सो पेशा छाड्ने गरेकाले उत्पादनका आधारमा अनुदान दिनुपर्ने माग कृषकले गर्दै आएका छन्।

पोखरा–२० का वडाध्यक्ष सिमबहादुर गुरुङले बाख्रासहित अन्य पशुपालनलाई सँगै लैजाने योजना रहेको बताए। बीउ बोका वितरण, घाँस काट्ने मेसिनलगायतका कार्यक्रममार्फत कृषकलाई वडामार्फत सहयोग उपलब्ध गराइएको उनको भनाई छ।

‘बाख्राको पकेट क्षेत्र मौजा भनेर हाम्रो वडा चिनिएको छ । महानगरका ३३ वडामध्येमा कृषिको राम्रो सम्भावना यहाँ छ,’ वडाध्यक्ष गुरुङले भने, ‘बाख्रासँगै व्यावसायिक कृषि उत्पादनका माध्यबाट वडालाई कृषि पर्यटनको ‘हब’ बनाउँने सोचेका छौँ।’

साविकको जिल्ला पशु सेवा कार्यालय कास्कीले विसं २०७१ मा मौजालाई बाख्राको पकेट क्षेत्र घोषणा गरेको थियो। त्यसयता भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र तथा पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयबाट कृषकको गोठ सुधार, तालीम, बजारको सुनिश्चिततालगायतमा सहयोग हुँदै आएको पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिए। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।