काउलीले बजारमा मूल्य पाएन, किसान चिन्तित्

कञ्चनपुर, ९ माघ । शुक्लाफाँटा नगरपालिका–३ का काउली खेतीमा संलग्न किसान यज्ञराज गौतमले आठ कट्ठा जग्गामा रोपेको काउली बेच्नका लागि तयार भएको छ । खेतमा फलेको काउली बिग्रिन थाले पनि खरिद कर्ता पाएका छैनन् ।

दुई साताअघि प्रतिकिलो रु ५० देखि ५५ थोकमा बिक्री भइरहेको काउलीको बजार मूल्य ह्वात्तै घटेर रु १० देखि १२ मा झरेपछि उनी निकै चिन्तित छन् । “काउली उत्पादन गर्दासम्म लागत खर्चनै प्रतिकिलो रु २० सम्म पुगेको छ”, उनले भने, “लागत खर्चनै नउठ्ने गरी बजारमा घाटा खाएर काउली बेच्नुपरेको छ ।”

सिँचाइ, मलखाद, कीटनाशक, गोडाइ, जोताइ र मजदूरको खर्च जोड्दा लागत खर्च निकै बढी हुने भए पनि थोरै मूल्यमा बेच्नुपर्दा घाटा लागेको उनले बताए । “विगत वर्षमा व्यापारी उत्पादित काउलीलगायत तरकारी खरिद गर्न गाउँसम्म नै आउँथे”, अर्का काउली उत्पादनमा लागेका किसान वसन्ती चौधरीले भने, “हाल व्यापारी आएका छैनन् । खेतमा धेरै काउली लगाएका छौँ । बजारमा लैजाँदा थोरै मूल्यमा बिक्री गर्नुपरेको छ । ढुवानीका साधानको व्यवस्था मिलाउन नसक्दासमेत खेतमा काउली बिग्रने अवस्थामा पुगेको छ ।” ढुवानीका साधानको अभाव र थोरै मूल्यमा काउली बिक्री गर्नुपर्ने अवस्थाले निकै निराश भएको उनले बताए ।

“खेतमा उत्पादन भएको काउलीलगायत तरकारी बिक्री गर्न निकै अप्ठेरो छ”, उनले भने, “बजार भाउ पाउँदैनौँ । टाढाको बजारमा भाउ पाइए पनि समयमै ढुवानीका साधनको व्यवस्था गर्न नसक्दा उत्पादित तरकारी पु¥याउन सकिँदैन ।” खेतमै बिग्रिएको तरकारी घरपालुवा जनावरलाई खुवाउन बाध्य भएको उनले बताए ।

“व्यापारीले सस्तोमा माग्छन्”, नवकिरण सहकारी संस्थाका अध्यक्ष धनबहादुर चौधरीले भने, “किसानले महँगोमा बेच्न खोज्छन् । यसै कारणले उत्पादित तरकारी बिक्रीमा समस्या देखिएको छ ।” काउली उत्पादन सबै किसानले एकै समयमा गरेकाले पनि बजार मूल्य घटेको उनको भनाइ छ । विचौलियाको भर नपरेर तरकारी उत्पादक किसानले सिधै व्यापारीसँग तरकारी बिक्री गर्दासमेत घाटा नलाग्ने गरी मूल्य पाउन सक्ने हुन्छ ।

त्यसका लागि व्यापारी र किसानबीच छलफल गरी उचित मूल्य निर्धारण गर्नुपर्ने वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए । “वडाका सबै परिवार तरकारी खेतीमा लागेका छन्”, उनले भने, “तरकारी खेतबाट सबैको घर खर्च चलेको छ । बजारीकरणको समस्या हल गर्न सबैको पहल आवश्यक छ ।”

कृषि विकास शाखाका प्रमुख खडक विकले मुख्यमन्त्री नमूना गाउँ कार्यक्रमअन्तर्गत वडा नं ३ का तरकारी खेती गर्दै आएका किसानलाई आधुनिकीकरण गर्नक लागि रु एक करोड बढी रकम लगानी गरिएको बताए । “लगानीअनुरुप किसानले तरकारी उत्पादन गरेका छन्”, उनले भने, “सबै किसानले एउटै किसिमको तरकारी फलाउँदा बजार मूल्य थोरै पाएका हुन् । किसानका खेतमा काउली फलेको छ । माग थोरै छ । यस वर्ष उत्पादन धेरै भएको छ । त्यसैले पनि मूल्य घटेको छ ।” सहजै तरकारी बिक्री गर्नका लागि तरकारी सङ्कलन केन्द्रको व्यवस्थासँगै ढुवानीका साधनको व्यवस्था गरिनुपर्ने उनले बताए । “कृषि क्षेत्रमा क्रियाशील सङ्घ संस्थासँग समन्वय गरी तरकारी बिक्रीका लागि देखिएको बजारको समस्या हल गर्छौं”, नगर प्रमुख दिलबहादुर ऐरले भने, “ढुवानीका साधनको व्यवस्थासमेत मिलाउँछौँ ।”

नगरपालिकासँग रहेका टिपर परिचालन गरी किसानलाई हप्ताको तीन दिन ढुवानीका लागि उपलब्ध गराइने उनले बताए । वडा नं ३ को पिपलाडी र जोनापुर गाउँ तरकारी खेतीका लागि अग्रणी छ । गाउँका ६० बढी किसानले व्यावसायिकरुपमा काउली खेती गरेका छन् । यहाँको काउली खेतीले झलारी, वन समिति, कलुवापुर, दैजी, सिसैया, सुडा र महेन्द्रनगरलगायत बजार धानेको छ । एक सिजनमा मात्रै यहाँबाट रु ८० लाख बढीको काउली मात्रै बिक्री हुने गरेको छ । काउली, तितेकरेला, काँक्रा, लौका, गोलभेँडा खुर्सानीलगायत तरकारी मौसमी, बेमौसमी यहाँ उत्पादन हुने गरेका छन् । बाह्रै महिना किसानले तरकारी उत्पादन गर्दछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।