बारीमै कुहिन थाल्यो किसानको अदुवा

डोटी । डोटी जिल्लाका दक्षिणी क्षेत्रका किसानले उत्पादन गरेको अदुवा बारीमै कुहिन थालेको छ। अदुवा खरीद गर्ने ग्राहक गाउँमा नआएका कारण अहिलेसम्म किसानको अदुवा बारीमै थन्किने अवस्थामा पुगेको हो।

वर्षभरिको आम्दानीको स्रोतको रुपमा लिइने अदुवा व्यापारीले विभिन्न बहाना बनाउँदै किन्न नै नआउने गरेपछि अदुवा घरैमा कुहिन थालेको किसानको गुनासो रहेको छ। ग्राहक नआउँदा बारीमै अदुवा कुहिन थालेपछि किसान निराश भएको बडिकेदार गाउँपालिका–५ का स्थानीयवासी टेकबहादुर कलेलले बताए।

उनले भने, ‘वर्षभरिको आम्दानी अदुवा थियो त्यही पनि किन्न व्यापारी आउदैनन्, बारीमै कुहिने भयो।’

अदुवा किन्न ग्राहक नआउँदा तथा किसानले काँचो अदुवाको मूल्य प्रतिकेजी रु ६० तोकेपछि बिक्री वितरणका लागि झनै समस्या भएको किसानको भनाइ छ।

मकै र कोदो छाडेर अदुवाखेती गर्दैआएका यहाँका किसान अदुवा बिक्री नभएपछि चिन्तित बनेका छन्। जिल्लाको बडिकेदार, जोरायल, बोगटान फुड्सिललगायतका गाउँपालिकाका कृषक अदुवा बिक्री नहुँदा मारमा परेको जोरायल गाउँपालिका–६ निरौलीका हिक्मतबहादुर बोहराले बताए।

उनले भने, ‘किसानले मनग्य आम्दानी होला भनेर अन्य खेती छोडेर अदुवाखेती गरेका छन्, अदुवा किन्न ग्राहक नै आउदैनन् निकै समस्या भयो ।’

अदुवा जिल्लाको बिपीनगर, जोरायल, खसरेमा भण्डारण गरी त्यहाँबाट बिक्री वितरण हुने भए पनि यो वर्ष किसानको बारीबाट नै अदुवा नआएपछि अदुवा भण्डारण केन्द्र पनि खाली अवस्थामा रहेका छन्।

खाद्यबाली र तरकारीको विकल्पमा अदुवालगायका कृषक अदुवा नै बिक्री नहुन थालेपछि यो वर्ष कसरी घरखर्च चलाउने भन्ने समस्यामा परेको बडिकेदार गाउँपालिका–१ विपीनगरकी स्थानीय बन्दना विष्ट (कलेल) ले बताइन्।

उनले भनिन्, ‘खाद्यान्न र तरकारी लगाउन छोडेर अदुवाखेती गरियो अहिले बिक्री नै भएको छैन, अब कसरी हातमुख जोर्ने भन्ने पिर परेको छ।’

उचित बजार, मूल्य तथा ग्राहक नपाउँदा यहाँका किसानको सयौँ किलो अदुवा बारीमै थन्किएको स्थानीय शान्तिदेवी कलेलले जानकारी दिइन्। यहाँका घागल, बर्छैन, लानाकेदारेश्वर, मन्नाकापडी, कोला, स्याली, निरौली, खसरे, चिउरी, भुजाली, सडेखान, छेडा, गैमोडा, जैसिबाज, रिठारा, बुडाकोट, रिसडीलगायतका ठाउँमा व्यावसायिक रुपमा उदुवा उत्पादन हुन्छ।

यहाँ उत्पादित अदुवाको प्रमुख बजार विपीनगर, शिवनगर, कैलालीको अत्तरिया तथा भारतका शहर हुन्। यति मात्र नभइ भारतले दुई वर्षयता नेपालबाट अदुवा न्यून मात्रामा किन्न थालेका कारण कृषक मारमा परेका छन्।

बडिकेदार गाउँपालिकामा दुई हजार घरधुरीले व्यावसायिक अदुवाखेती गर्दै आएको बडिकेदार गाउँपालिका–१ भक्तबहादुर साउदले जानकारी दिए। उनका अनुसार यहाँका अधिकांश किसानले वर्षमा कम्तीमा एक जनाले तीनदेखि चार क्वीन्टलसम्म अदुवा उत्पादन गर्छन्।

अन्य खेती भन्दा अदुवाखेती गर्न सजिलो तथा मनग्य आम्दानी हुने भएका कारण पनि किसान पछिल्लो समय अदुवा खेतीमा अकर्षित हुँदै गएको बडिकेदार गाउँपालिका कृषि एकाइ केन्द्रले जनाएको छ। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।