बंगलादेशको रासायनिक मल आज वीरगञ्ज आइपुग्दै, बाँकेका गोदाम पनि भरिभराउ

काठमाडौं, नेपाल र बंगलादेश सरकार (सरकार–सरकारबीच, जिटुजी) सम्झौतानुसारको पहिलो खेपको रासायनिक मल आजसाँझसम्म नेपाल आइपुग्ने भएको छ। बंगलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मलमध्येमा पहिलो लटमा दुई हजार ५०० टन मल नेपाल आइपुग्ने भएको हो।

मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनीका अनुसार कोलकातामा ल्याइएको २२ हजार ५०० टन रासायनिक मलमध्येमा आज बेलुका वा मंगलबार बिहानसम्म दुई हजार ५०० टन मल नेपाल आइपुग्नेछ।

कोलकाताबाट रेलका ४२ डब्बामा ल्याइएको मल ढिलोमा मंगलबार बिहानसम्म वीरगञ्ज आइपुग्ने कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार रेलमा ल्याइएको मल आज साँझसम्म वीरगञ्जमा आइपुग्नेछ भने ट्रकमा ल्याइएको मल बुधबारसम्म विराटनगरमा पुग्नेछ।

गत बिहीबार कोलकाताबाट छ ट्रकमा २५० टन मल विराटनगरका लागि ल्याइएको उनले जानकारी दिए। यसैगरी आज पुनःरेलमा दुई हजार ५०० टन मल नेपालका लागि हिँडिसकेको छ।

पहिलो लटमा रेल तथा ट्रकमार्फत आउने मल कृषि सामग्री कम्पनीको विराटनगर, वीरगन्ज र भैरहवामा रहेका गोदाममा राखिने कम्पनीले जनाएको छ। बंगलादेशसँग प्रतिमेट्रिक टन २५९.१९५ अमेरिकी डलरमा मल खरीदको सम्झौता भएको प्रबन्ध सञ्चालक भण्डारीले जानकारी दिए। उनका अनुसार कम्पनीबाट रासायनिक मल खरीदको अन्तीम सम्झौतानुसार बंगलादेशसँग प्रतिमेट्रिक टन १८ डलर कममा सम्झौता भएको हो।

जिटुजीमार्फत मल ल्याउन गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो। मन्त्रालयको निर्देशनअनुसार कम्पनीले मल खरीदको तयारी गरेको थियो।

तयारीस्वरुप गत पुस २ गते जिटुजी प्रक्रियामार्फत मल खरीदका लागि कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो । सम्झौता भएको साढे तीन महीनापछि पहिलो लटको मल नेपाल आइपुग्न लागेको हो।

कम्पनीले बंगलादेशबाट ल्याइने रासायनिक मल ढुवानीका लागि गत असोजमा संयुक्त अरब इमिरेट्स (यूएई) को जेन्ट्रेड एफजेडएफ कम्पनीलाई जिम्मा दिइसकेको छ।

पर्याप्त मौज्दात
धान रोप्ने मौसममा रासायनिक मलको अभाव भए तापनि हाल पर्याप्तमात्रामा मलको मौज्दात रहेको छ। कम्पनी र साल्टट्रेडिङ कर्पोरेशनसँग पर्याप्तमात्रामा रासायनिक मलको मौज्दात रहेको बताइएको छ।

कृषि कम्पनीसँग हाल ४० हजार मेट्रिकटन डिएपी, सात हजार मेट्रिकटन पोटास र १० हजार मेट्रिकटन युरिया मल मौज्दातमा रहेको छ। चालू आवको बोलपत्रमार्फत साल्ट ट्रेडिङले खरीद गरेको मलसमेत पर्याप्तमात्रामा रहेको छ। शुरुआती चरणमा कृषि कम्पनीको मल बिक्रीवितरण हुनेछ भने कम्पनीको मौज्दात सकिँदै गएपछि साल्ट ट्रेडिङले खरीद गरेको मलको बिक्रीवितरण शुरु हुने बताइएको छ।

रासायनिक मलले भरियो गोदाम
अन्नको भण्डारका रुपमा रहेका बाँके र बर्दियाका किसानले यस वर्ष पनि धान र गहुँको मौसममा रासायिक मल नपाए पनि अहिले मलले गोदाम भरिएको छ।

धानखेतीका लागि असार साउन र गहुँ तथा तोरीखेतीका लागि कात्तिक महीनामा किसानलाई रासायनिक मल आवश्यक पर्छ। यस वर्ष धान र गहुँको मौसममा मलको हाहाकार नै भयो। मागको करीब ५० प्रतिशत मात्रै मल किसानले बडो मुिस्कलले पाए। मौसमका बेला कृषि सामग्री कम्पनीका गोदाम खाली हुन्थे। त्यही खाली गोदाम हेरेर किसान निराश भएर फर्कन्थे तर हिजोआज कृषि सामाग्री कम्पनी कर्मचारी मात्रै नभएर कार्यालयमा पुगेका किसान निक्कै उत्साहित र मख्ख छन्।

प्रायः सधैँ खाली हुने गोदाम रासायनिक मलले भरिएका छन्। आफ्नो गोदाम भरिएपछि कृषि सामग्री कम्पनीले भाडामा गोदाम लिएर मल राखेको छ। अहिले गोदाममा करीब १३ सय टन रासायनिक मल मौज्दात छ।

रासायनिक मल पर्याप्त भएपछि कम्पनीले सहकारी संस्थालाई मागेजति दिइरहेको कान्ति पोखरी सहकारी संस्थाका व्यवस्थापक रमजान अलि इद्रिसीले बताए। पछिल्ला दिनमा किसानले पशुपालन गर्न छाड्दै गएका कारण कम्पोष्ट मलको प्रयोग घट्दै गएकाले रासायनिक मलप्रतिको निर्भरता बढ्दै गएको छ।

रासायनिक मलको अभावका कारण कृषिउपजको उत्पादनसमेत प्रभावित हुँदै आएको छ। अहिले किसानलाई हिँउदे मकैका लागि मल आवश्यक छ। धान गहुँको मौसममा मलको हाहाकार भए पनि पछिल्ला दिनमा युरिया र डिएपी मल पर्याप्तमात्रामा आइरहेकाले कम्पनीले कृषि सहकारीले मागेअनुसार नै मल वितरण गरिरहेको कृषि सामग्री कम्पनी नेपालगञ्जका प्रबन्धक रमेश पौडेलले बताए।

अहिले आएको मल आगामी वर्षको धानको याममा वितरण गर्ने तयारी कम्पनीको छ। बाँकेका ३६ हजार ५०० हेक्टरमा धानखेती हुन्छ। बाँकेमा धानखेतीका लागि तीन हजार ५०० मेट्रिकटन युरिया, एक हजार ५०० मेट्रिकटन डिएपी र ५० मेट्रिकटन पोटास मल आवश्यक पर्छ। त्यसैगरी बाँकेमा करिब १८ हजार हेक्टरमा गहुँखेती हुन्छ। गहुँखेतीका लागि दुई हजार ५०० मेट्रिकटन युरिया एक हजार ५०० मेट्रिकटन डिएपी र ५० टन पोटास मल आवश्यक पर्छ। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।