तोरीको उत्पादन बढ्योः किसानमा खुशीयाली

टीकापुर, कैलालीमा तोरी उत्पादन बढेको छ । गत वर्षको तुलनामा कैलालीमा यस वर्ष तोरी दोब्बरले उत्पादन बढेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताउनुभयो । औसतमा तोरी प्रतिहेक्टर १० क्विन्टलसम्म उत्पादन हुने गर्दछ । “गत वर्ष प्रतिहेक्टर छ क्विन्टलका दरले तोरी उत्पादन भएकामा यस वर्ष बढेर प्रतिहेक्टर १२ क्विन्टलसम्म उत्पादन भएको छ”, उहाँले भन्नुभयो, “गत वर्ष तोरीखेती भएको हिउँदे मौसममा अधिक वर्षा हँुदा तोरीसँगै अन्य बालीको उत्पादनमा कमी आएको थियो ।

यस वर्ष मौसम अनुकूल रहेकाले गत वर्षभन्दा दोब्बरले उत्पादन बढेको छ ।” यस वर्ष तोरी बाली मात्र होइन अन्य बाली पनि राम्रो उत्पादन हुने देखिएको प्रमुख शर्माको भनाइ छ ।

तोरी बाली उत्पादन राम्रो भएपछि यहाँका किसान खुशी भएका छन् । कैलालीको जानकी गाउँपालिकाका किसान सन्देश चौधरीले यस वर्ष १२ क्विन्टल तोरी बिक्री गर्नुभयो । प्रतिक्विन्टल रु १० हजारका दरले बिक्री गर्नुभएका सन्देशले रु एक लाख २० हजार आम्दानी गर्नुभयो । “चार बिघा जमीनमा तोरीखेती गरेको थिए । तोरी राम्रो उत्पादन भयो”, उहाँले भन्नुभयो, “घरमा आवश्यक तोरी राखेर बाँकी बिक्री गरे । यस वर्ष तोरीखेतीले सन्तुष्टि दिएको छ ।”

सन्देश जस्तै तोरीखेती गरेका अन्य किसान पनि तोरी उत्पादन र तोरीको बजार मूल्य राम्रो पाएपछि खुशी भएका हुन् । तोरीखेती स्याहारेका अधिकांश किसान त्यही तोरीखेतीमा छरेको मसुरो स्याहार्न थालेका छन् । गत वर्ष तोरी उत्पादन कम भएका कारण कैलालीमा तोरीको तेल पाउनसमेत कठिन भएको थियो । कैलालीका मिल सञ्चालकले यस वर्ष तेल बिक्रीका लागि आवश्यक तोरी भण्डारण गरिसकेका छन् ।

“गत वर्ष हामीले तेल बिक्रीका लागि तोरी पाएनौँ, तेल पेलेर बिक्री गर्ने मिलमा कारोबारसमेत भएन । रु २०० प्रतिलिटर बिक्री हुने तेल तोरी अभाव भएपछि रु २५० मा बिक्री गर्दा पनि तेल अभाव भयो”, मिल सञ्चालक रवीन्द्र धामीले भन्नुभयो, “यस वर्ष एक गोदाम तोरी भण्डारण गरेको छु । मेरो त व्यवसाय नै तोरीको तेल बिक्री गर्ने हो । पछि अभाव हुन्छ भन्ने डरले तोरीको भण्डारण बढाएको छु ।”

कैलालीमा २० हजार हेक्टर क्षेत्रफलमा तोरीखेती हुने गरेको छ । मल र सिँचाइको उपलब्धताले तोरीको उत्पादनमा भरपर्ने भएकाले यस वर्ष करीब २० हजार टन उत्पादन भएको केन्द्र प्रमुख शर्माको भनाइ छ । “तोरीखेतीको उत्पादकत्व बढाउनका लागि नयाँ प्रविधि, उन्नत जातको बीउको प्रयोगलेसमेत प्रभाव पार्ने गर्दछ”, उहाँले भन्नुभयो, “पछिल्लो समय किसानसमेत बीउ, मल र प्रविधि प्रयोगका सवालमा सचेत बन्न थालेका छन् ।”

किसानले लगाउने बालीको उत्पादन हरेक वर्ष घटबढ हुने गरेको हुन्छ । मौसम अनुकूलता, सिँचाइ व्यवस्थापन, मल, बीउलगायतमा तालमेल मिलेमा उत्पादन बढी लिन सकिने कृषि विज्ञको सुझाव छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖