नवौँ वर्षमा वाग्मती सफाइ महाअभियान, कोरोना पीडितलाई राहत

काठमाडौँ,विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको स्वयंसेवी वाग्मती सफाइ महाअभियान आठ वर्ष पूरा गरी नवौँ वर्ष प्रवेश गरेको छ । विसं २०७० जेठ ५ गतेदेखि प्रत्येक शनिबार बिहान दुई घण्टा राष्ट्रका लागि स्वयंसेवा भन्ने नाराका साथ सफाइ महाअभियान शुरु भएको हो ।

सफाइ महाअभियान स्वयंसेवी अभियान भए पनि यसले चन्दा, आर्थिक सहयोग सङ्कलन नगरेको अभियानकर्मी चक्रबहादुर चन्दले जानकारी दिनुभयो । महाअभियानका नाममा कुनै बैंक खातासमेत नखोलिएको उहाँले बताउनुभयो । महाअभियानको कुनै समिति र कार्यालयसमेत छैन । कुनै समिति र कार्यालय नभए पनि आठ वर्षदेखि निरन्तर सफाइ महाअभियान चलेको छ ।

विश्वमै लामो समय चलेको स्वयंसेवी अभियानका रूपमा वाग्मतीले पहिचान बनाएको छ । यसैकारण महाअभियानले अन्तर्राष्ट्रिय पुरस्कारसमेत पाइसकेको छ । पुरस्कारको सम्मान ग्रहण गरे पनि पुरस्कारको नगद भने बैंक खाता नभएकैले लिइएको थिएन । महाअभियानले गत शनिबार ४१८ हप्ता पूरा गरेको छ । स्वाभिमान र राष्ट्रिय जागरणका लागि निरन्तर महाअभियान चलाइएको हो ।

महाअभियान नवौँ वर्ष प्रवेश गरेको अवसरमा विभिन्न कोरोना प्रभावित मजदुर एवं विपन्न वर्गका लागि आज विभिन्न स्थानमा स्वास्थ्य मापदण्ड पूरा गरी राहत वितरण गर्न लागिएको अभियानकर्मी चन्द्र दङ्गालले राससलाई जानकारी दिनुभयो । कोरोनाको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण अस्पताल भर्ना हुने बिरामीका लागि रगतको अभाव हुन थालेकाले महाअभियानले आज रक्तदान कार्यक्रमसमेत आयोजना गर्न लागेको जनाइएको छ । यसैगरी आज बेलुकी कोरोनाबाट बच्न कस्तो आहार, विहार एवं रहन सहन गर्ने भन्ने विषयमा जुम प्रविधिबाट अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको जनाइएको छ ।

तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा गङ्गा सप्तमीको अवसर पारेर वाग्मती सफाइ महाअभियान शुरु भएको हो । द्वापरयुगमा कपिलमुनिको श्रापबाट राजा सगरका ६० हजार छोरा भष्म भएपछि उनका सन्तति भगीरथले पितृ मुक्तिका लागि वर्षौँ तपस्या गरी वैशाख शुक्ल सप्तमीका दिन स्वर्गबाट गङ्गालाई पृथ्वीमा अवतरण गराएको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । पृथ्वीमा गङ्गा अवतरण भएको अवसर पारेर करिब ४० वर्षसम्म ढलमतीमा परिणत भएको वाग्मती सफाइ महाअभियान शुरु भए पनि अपेक्षाकृत नदी सफा भने हुन सकेको छैन ।

महाअभियानले सफाइका लागि देशव्यापी जागरण भने फैलाएको छ । उपत्यकामा वाग्मतीका सहायक नदी समेतको सफाइ शुरु भएको छ । उपत्यकाबाहिरका मुख्य नदी, शहर एवं सांस्कृतिक सम्पदासमेत सफाइ शुरु भएको छ । ‘हामी सक्छौँ, हामी गर्छौँ, हामीले नगरे कसले गर्छ, अहिले नगरे कहिले गर्ने’ भन्ने उत्साहका साथ सफाइ महाअभियान सञ्चालन भइरहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।