चैते धान भित्र्याउन किसानलाई चटारो

टीकापुर, कैलालीको भजनीका किसानलाई यतिखेर चैते धान भित्र्याउने चटारो छ । कैलालीका किसान फागनु, चैत महिनामा रोपेको धान घर भित्र्याउने कार्यमा व्यस्त छन् । भजनीका किसान एकातिर धान भित्र्याउँदै छन् भने अर्कोतर्फ बर्खे धान रोप्ने तयारीमा समेत जुटेका छन् ।

फागुनदेखि चैतको पहिलो सातासम्म रोपाइँ गरेका किसान घरघरमा धान भित्र्याउनमा व्यस्त छन् । अधिकांश किसानलाई चैते धानबाली भित्र्याई बर्खे धान बाली लगाउनुपर्ने, भजनीका केही क्षेत्रमा डुबानको समस्या हुने भएकाले किसानलाई अहिले धान भित्राउन हतार भएको हो ।

भजनी नगरपालिका–८ सुनाफाँटाका किसान कृष्णलाल धमलाले यस वर्ष करीब दुई बिघा क्षेत्रफलमा चैते धान खेती गर्नुभएको छ । उहाँको धान अहिले पाकेर सुन झैँ पहेंलो देखिएको छ । ‘‘पाकेर तयार भएको धान समयमा घरमा भित्र्याउन भ्याइनभ्याइ छ । अर्कोतर्फ कतै वर्षा हुन्छ कि भन्ने डर त्यत्तिकै छ । तयारी भएको धान वर्षात्अघि भित्र्याउनु पर्ने भएकाले हामी धान काट्नमा व्यस्त छौँ’’, धमलाले भन्नुभयो, ‘‘खेतमा पानी पसिसकेको छ ।’’ केही वर्षयता चैते धान नै यहाँको मुख्य अन्न बनेको छ ।

अर्का किसान इन्द्र धमलालाई पनि धान समयमै भित्र्याउने उत्तिकै हतार छ । उहाँले १० कठ्ठा जमीनमा अन्न जोहोका लागि लागि चैते धान रोप्नु भएको छ । चैते धान तयारी अवस्थामा रहेको र मौसममा प्रतिकूलता देखिएकाले धानको रोपाईँभन्दा धान भित्र्याउनमा हतार भइरहेको उहाँको भनाइ छ । ‘‘यतिखेर हामी चैते धान भित्र्याउन थालेका छौँ । धान काटेपछि खेतमै सुकाएर सङ्कलन गर्न सम्भव छैन’’, धमालाले भन्नुभयो, ‘‘हरियो धान खेतमै काटेर थ्रेसिङ गरेर घर भित्र्याउने र पछि धान सुकाएर राख्ने गरेका छौँ । यसरी वर्षात्को पानीले धान जोगाउने गरेका छौँ।’’

हाँहरु जस्तै चैते धान खेती गरेका यहाँका धेरै किसानलाई अहिले घरमा धान भित्र्याउन हतारमा छन् । चैते धान बर्से धान खेतीभन्दा राम्रो उत्पादन हुने किसानको भनाइ छ । चैते धान उत्पादन बढी हुने भए पनि धान भित्र्याउन वर्षात्को समयमा हुने भएकाले किसानलाई समस्या हुने गरेको छ।

छिट्टै रोपाइँ गरेका किसानहरु अहिले धमाधम धान भित्राइरहेको भए पनि केही ढिला भएका किसानको धान पाकिरहेको छ । ढिलो गरी धान रोपेका किसानले असार अन्त्यसम्म धान भित्र्याउने गर्दछन् । ‘‘भजनीमा अधिकांश किसानले चैते धान खेती गर्छन् ।

जसको कम डुबान हुन्छ उनीहरु बर्खे धान पनि रोप्छन्’’, किसान अगुवा राधेश्याम चौधरी भन्नुहुन्छ,‘‘जमीन धेरै डुवानमा पर्ने किसानले बर्खे धान खेती गर्न सक्दैनन् । उनीहरुको अन्न भनेकै चैतमा रोपेको धान हो ।’’ यहाँका किसानले खेतको धान काटेर सडकमा बोक्ने र सोही दिन सडकमै धान थेसिङ गर्ने गरेर घर भित्र्याउने गर्दछन् । यहाँका किसानलाई मनसुन शुरु हुने समय नजिकिएपछि झन हतार भएको छ ।

भजनीमा करीब ४०० बिघा क्षेत्रफलमा यसवर्ष चैते धानखेती गरिएको नगरपालिकाको कृषि शाखाको तथ्याङ्कमा छ । भजनी नगरपालिका, प्रदेश सरकारले समेत किसानलाई चैते धान खेतीमा प्रोत्साहनका लागि सहयोग र अनुदान दिने गरेका छन् ।

‘‘किसानलाई खेतीमा आत्मनिर्भर बनाउन, वापर टिल, मल, बीउ जस्ता कार्यमा अनुदान र सहयोग कार्यक्रम भइरहेका छन्’’, भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले भन्नुभयो, ‘‘बर्र्खेे धान खेतीभन्दा चैते धान खेती यहाँका किसानको रोजाइ बनेको छ ।’’

कैलालीको भजनी बाढी प्रभावित क्षेत्र हो । यहाँ बर्सेनि बाढी र डुवानको समस्या हुन्छ । बाढी र डुवान हुने भएकाले यहाँका अधिकांश किसानले वर्षात्मा खेती गर्दैनन् । बाढी र डुवानका कारण भजनीमा सयौँ बिघा जमीन बगर समेत बनेको छ । बगर बनेको जमीनमा यहाँका किसानले गर्मी मौसममा विभिन्न बेमौसमी तरकारी खेती गर्ने गरेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।