५२ वर्षदेखि सम्पर्कविहीन राई घर आइपुग्दा…

खोटाङ, १ असोज । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका प्रसाद राई लामो समयसम्म सम्पर्कमा नआउँदा परिवारले माया मा’रिसकेका थिए । २०२७ साल बैशाखमा घर छाडेका प्रसाद ‘ज्युँदै छन् वा छैनन्’ भन्ने बारेमा आफन्त नै बेखबर थिए । कतिपयले भुलिसकेका थिए । आफन्तलाई ‘इण्डियामा छन्’ भन्ने बाहेक अन्य जानकारी थिएन । तर, ‘बाह्र वर्षमा खोलो फर्कन्छ’ भनेझैँ ५२ वर्षपछि प्रसाद घर फर्किएका छन् । २१ वर्षको उमेरमा घरबाट हिँडेका उनी अहिले ७३ वर्षको उमेरमा घर आइपुगेका हुन् ।

उदयपुरको बलम्तास्थित मावली घर जाने भन्दै २०२७ सालमा हिँडेका प्रसाद परिवारबाटै सम्पर्कविहीन बनेका थिए । भाञ्जा पर्नेसँग इटहरीसम्म सँगै गएका प्रसाद त्यहीबाट सम्पर्कविहीन बनेका थिए । इटहरीबाट भाञ्जा गाउँ फर्कँदा उनी भने इण्डिया छिरिसकेको खबर आएको थियो । उनी हालसम्म इण्डियाको नागाल्याण्ड बसेको खुलेको आफन्त विशाल राईले जानकारी दिए । उनी नागाल्याण्डबाट नेपाल प्रवेश गरेर इटहरी–उदयपुरको कटारी–घुर्मी–जयराम–हलेसी–दिक्तेल हुँदै २८ भदौमा गाउँ पुगेका हुन् ।

प्रसाद परिवारका एक्लो छोरो थिए । परिवारमा जेठो सन्तानका रुपमा जन्मिएका छोरो वेपत्ता हुँदा आमाबुवालाई पर्नुसम्म चोट परेको थियो । प्रसादले घर छाड्दा घरमा आमाबुवा थिए । घरभरी ६ स–साना बहिनीहरु थिए । ५२ वर्षपछि फर्कँदा घर रित्तो थियो । हराभरा घर सुनसान र उराठ लाग्दो थियो । उनका बुवाआमाको मृत्यु भएको वर्षौ वितिसकेको छ । श्वास छउञ्जेल आमाबुवाले प्रसादको बाटो हेरेका थिए । बहिनीहरु विवाह गरेर आ–आफ्नो घरमा छन् । भाञ्जाभाञ्जीदेखि नातीनातिनी भइसकेका छन् । माया मारिसकेको अवस्थामा प्रसाद आइपुगेपछि आफन्त खुसी भएका छन् । उनी बुढेसकालले छोपिसकेको साथीभाईसँग खुसी साटिरहेका छन् ।

प्रसाद विवाह नगर्दै इण्डिया गएका थिए । सम्पर्कमा नआए पनि आफन्तले भने कुनै न कुनै दिन घर सम्झेर प्रसाद घर आउने आशा भने मारेका थिएनन् । उनी ज्याला मजदुरीको काम गर्दै नागाल्याण्ड बसेको बताइएको छ । ‘भनिन्छ नी जीवनमा नसोचेको हुन्छ भनेर, वास्तवमा हो रहेछ, हाम्रो दिक्कु (मामा) हुनुहुन्थ्यो भनेको सुनेको आजभन्दा लगभग ५२ वर्ष अघिदेखि हामीबाट ओझेलमा हुनुहुन्थ्यो रहेछ,’ प्रसादको भाञ्जी नानुका चाम्लिङले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘५२ वर्षपछि आफ्नो घर, परिवार, आफन्त, दाजुभाई, नरनाता, सम्झेर जन्मथलो फर्किनु भएको खबर सुन्दा साह्रै खुसी लाग्यो । आज यसरी मामालाई देख्न पाउँदा हर्षको आँसु थामिरहेका छैनौँ !’

पहाडी क्षेत्रबाट रोजगारी खोज्दै इण्डियाको नागाल्याण्ड, सिलोङ लगायतका ठाउँमा जाने आउने स्थानीयको संख्या अहिले पनि अधिक छ । कतिपय नागाल्याण्ड, सिलोङ लगायतका ठाउँमा पुग्ने र दशकौंसम्म उतै बस्ने पनि उत्तिकै भेटिन्छन् । न्युज कारखाना /तस्बिर सौजन्य : प्रेम राई

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।