भोजपुरमा बेवारिसे अवस्थामा भरुवा बन्दुक र छर्रा बरामद
भोजपुर । भोजपुरको आमचोक गाउँपालिका–९ बोखिमटारस्थित दुधकोशी सामुदायिक वनमा बेवारिसे अवस्थामा एक नाल भरुवा बन्दुक र त्यसमा प्रयोग हुने छर्राहरू फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार मिति २०८३ कात्तिक २५ गते अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको गस्ती टोलीले वन क्षेत्रमा बेवारिसे अवस्थामा बन्दुक फेला पारेको हो।
बन्दुकको नालमुनि रहेको गजमा बाँधेर राखिएको प्लास्टिकका पाँच वटा साना बट्टामा बेरिङका दाना तथा छर्रासमेत फेला परेका छन्।
प्रहरीले भरुवा बन्दुक र त्यसमा प्रयोग हुने सामग्रीहरू विधिवत् बरामद गरेको जनाएको छ। उक्त बन्दुक कसले र कुन प्रयोजनका लागि त्यहाँ राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।


