सडक बालबालिकाको व्यवस्थापन चुनौतीपूर्ण बन्दै
हुमाकान्त पोखरेल,तम्घास, ४ मङ्सिर । गुल्मीको रेसुङ्गा नगरपालिका–८ स्थित बसपार्कमा सागर नेपाली बिहान सबेरैदेखि राति अबेरसम्म भेटिन्छन् । उहाँ सदरमुकामको तम्घास बजारमा अन्य कुनै कामले होइन, विभिन्न मानिससँग पैसा माग्दै हिँड्छन् । आफ्नो वास्तविक ठेगाना र उमेर पनि थाहा नभएका उहाँ अन्दाजी आठ वर्षका देखिन्छन् । घरमा बुवा, आमा, दिदी र दाई छन् । तीमध्ये दाई हिमाल र उहाँसँगै बजारमा पैसा माग्न हिँड्छन् भने बुवा पल्लेदारका रूपमा काम गर्नुहुन्छ ।“दिनभर पैसा माग्छौँ, एक जनाले रु पाँचदेखि ४० सम्म दिन्छन्”, उहाँले भन्नुभयो, “मागेको पैसा घरबेटीलाई भाडा बुझाउन आमालाई दिन्छौँ ।” उहाँ खानीगाउँस्थित सिद्धबाबा माध्यमिक विद्यालयमा अध्ययनरत छन् । तिहारपछि विद्यालय सञ्चालन भइरहेको छ तर दिदीले विद्यालयमा नभई पैसा माग्न पठाएर आफू बजारमा हिँडेको उहाँले बताउनुभयो ।
हिमालले विद्यालय सञ्चालन हुने÷नहुनेबारे आफूहरूलाई केही थाहा नहुने र रातिमाबाहेक अन्य समयमा आफूहरु कहिले समूहमा त कहिले एक्लै पैसा माग्न जाने गरेको बताउनुभयो ।
सागर र हिमाल त बजारमा माग्दै हिँड्ने सडक बालबालिकाका प्रतिनिधिमूलक पात्र मात्रै हुनुहुन्छ । उनीहरुजस्ता कतिपय बालबालिका अझै पनि जीवन गुजाराकै लागि बजारमा कसैले फालेका फलफूल एवं खानेकुरा खान्छन् । होटलबाट फालिएको खाना, खाएर फालेको फलफूल, ढलमा फ्याँकिएका वस्तुलगायतका खाद्यान्न एवं नगद आउने सामग्री बालबालिकाका जीवन गुजार्ने माध्यम बनेका छन् ।
सदरमुकाम तम्घासको उदिनढुङ्गा, मिलनचोक, भीमचोक, लाकुरीमञ्च, खानिगाउँ, बसपार्कलगायतका ठाउँ बालबालिकाका लागि पैसा माग्ने मुख्य ठाउँ हुन् । बसपार्क र उदिनढुङ्गामा मानिसहरु सवारी चढ्ने÷ओर्लने भएकाले बालबालिकाको बढी भीड हुन्छ । तम्घासमा पैसा माग्दै हिँड्नेमध्ये अधिकांशका बाबुआमा छन् । उनीहरुले राम्रो हेरचाह नगर्दा अहिले सडकमा बालबालिका मगन्ते जीवन बिताइरहेका छन् । सडक बालबालिकाले पैसा माग्दा कतिपयले कुटपिटसमेत गर्दछन् । जसका कारण सडक बालबालिकाको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।
पसलबाट सामान लैजान्छन् ः व्यापारी
बालबालिकाले बाटोमा हिँड्ने मानिस र व्यापारीसँग पैसा माग्ने मात्रै होइन्, पसलबाट खानेकुरासमेत लैजान्छन् । व्यापारीका आँखा छलेर चाउचाउ, दालमोठ, बिस्कुटलगायतका खानेकुरा आफैँले झिक्ने गरेका छन् । “म नभएका बेला आफैँ झिकेर कैयौँपटक लगे, बालबालिका भएकाले कुटपिट गर्न मानवताले दिएन”, बसपार्कमा किराना पसल सञ्चालन गर्दै आउनुभएका हरि पाण्डेले भन्नुभयो, “सडक बालबालिकाको उचित व्यवस्थापन जरुरी छ ।” तत्काल नै यस्ता बालबालिकाको व्यवस्थापन गर्न नसके भविष्यमा ठूलो समस्या झेल्नुपर्ने उहाँले बताउनुभयो ।
राज्यले सहयोग गर्नुप¥र्यो ः अभिभावक
धुर्कोट गाउँपालिका–७ वाग्लाका ३२ वर्षीया रमेश विश्वकर्माले घर छोडेको १३ वर्ष भयो । रोजगारीका लागि बीचमा केही समय भारतमा गएका उहाँ पछिल्लो केही वर्षयता तम्घासमै बस्नुहुन्छ । बसपार्कमा उहाँ र श्रीमतीसहित उहाँका दुई छोरा र दुई छोरी बस्नुहुन्छ । तीमध्ये सात वर्षीय छोरा र एक छोरी बिहानदेखि बेलुकीसम्म बजारमा पैैसा माग्न हिँड्न गरेको उहाँले बताउनुभयो । “मैले दिनभर काम गरेको पैसाले बिहान–बेलुका खान पनि मुस्किलले पुग्छ”, उहाँले भन्नुभयो, “केटाकेटीलाई पढाउन खर्चले पुग्दैन ।” छोराछोरीलाई माग्न पठाउने आफ्नो रहर नभई बाध्यता भएको उहाँले सुनाउनुभयो । राज्यले पढाइ खर्चमा सहयोग गरेमा विद्यालय पठाउने उहाँको प्रतिबद्धता छ । पल्लेदारकैरुपमा काम गर्ने अर्का अभिभावक सुनिल नेपालीले पनि राज्यले सहयोग गरेमा आफ्ना बालबालिकालाई विद्यालय पठाउने बताउनुभयो ।
विद्यालय पठाउने तयारीः प्रहरी
बजारमा बालबालिका छोड्नेका अभिभावक तम्घासमै पल्लेदारका रुपमा काम गर्छन् । उहाँहरुले ज्यालादारी गरेर दैनिक ७०० देखि एक हजारसम्म आम्दानी गर्छन् । अधिकांश अभिभावकले दिनभर कमाएको पैसाले मादक पदार्थ सेवन गर्छन् । जसले गर्दा बालबालिकाको व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गइरहेको छ । जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी पुरुषोत्तमप्रसाद पाण्डेले बालबालिकाले पसलमा चोरी गरेको निवेदन कार्यालयमा आउने गरेको बताउनुभयो । त्यसका साथै मोटरसाइकलमा क्षति गरेको, जबर्जस्त पैसा लगेको जस्ता उजुरी कार्यालयमा आउने गरेको उहाँको भनाइ छ ।
तम्घासमा माग्दै हिँड्ने १३ जना बालबालिका रहेको र उनीहरुलाई रेसुङ्गा नगरपालिका–८ को वडा कार्यालयको समन्वयमा सिद्धबाबा माध्यमिक विद्यालयमा पढाउने तयारी भइरहेको सूचना अधिकारी पाण्डेले बताउनुभयो । “तेह्र जनामध्ये दुई जनाका मात्र अभिभावक छैनन्, बाँकी ११ जनाका अभिभावक भएर पनि स्याहार नगरेका हुन्”, उहाँले भन्नुभयो, “अहिलेलाई विद्यालय पठाउने तयारी भइरहेको छ ।” त्यसका साथै उहाँले राज्यले नै एउटा नीति बनाएर व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी पुण्ड्य विक्रम पौडेलले स्थानीय तहले बालबालिकाको जिम्मेवारी लिनुपर्ने र नभए परिवार स्वयंले लिनुपर्नेमा जोड दिनुभयो ।


