पूर्वराजदूत पौड्यालको समन्वयमा स्वास्थ्य सामग्री
गुल्मी, २१ मङ्सिर । विश्वमा पछिल्लो समयमा फैलिँदै गएको कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिम बढ्न नदिनका लागि गुल्मीका स्थानीयस्तरमा सहयोगदाताहरूले पुनः स्वास्थ्य सामग्री उपलब्ध गराउन सुरु गरेका छन् । यसै अभियानअन्तर्गत नेपाल सरकारका पूर्व मुख्यसचिव एवं चीनका पूर्वराजदूत लीलामणि पौड्यालले गुल्मीमा २० थान अक्सिजन कन्सन्ट्रेटर सोमबार हस्तान्तरण गर्नुभएको छ ।हस्तान्तरण गरिएका सामग्रीमा गुल्मी अस्पताल तम्घासमा आठ, रिडी स्वास्थ्य केन्द्रमा दुई, धुर्कोटमा दुई, जोहाङमा दुई, श्रृङ्गामा दुई, बम्घामा एक, बलेटक्सारमा एक, मुसिकोट र चन्द्रकोटमा एक÷एक गरी २० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो । वितरण गरिएका सामग्री चिनियाँ सहयोगी हातहरूमार्फत चीनका पूर्वराजदूत पौड्यालको पहलमा जिल्लामा भित्र्याइएको हो ।
अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्दै पूर्वराजदूत पौड्यालले कोही पनि नागरिक अस्पताल पुगेर अक्सिजन अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आफ्नो पहलमा चिनियाँ नागरिकको सहयोगमा उक्त सामग्री उपलब्ध गराइएको बताउनुभयो । उहाँले उपलब्ध सामग्रीलाई स्वास्थ्य संस्थाले भरपुर उपययोग गर्नुपर्नेमा जोड दिनुभएको थियो । सो अवसरमा गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले चिनियाँ हातहरूले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता प्रकारका सहयोगले स्वास्थ्य संस्थामा थप सहयोग पुग्नुका साथै बिरामी र स्वास्थ्यकर्मीको मनोबलसमेत बढ्दै जाने बताउनुभयो ।
कार्यक्रममा स्थानीय पालिकाका अध्यक्ष एवं अन्य जनप्रतिनिधिले जिल्लाको स्वास्थ्य समस्यालाई बुझेर पौड्यालमार्फत चिनियाँ हातहरूले गरेको सहयोगप्रति उच्च प्रशंसा गर्नुभएको थियो । कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रमको संयोजन युवा समाजसेवी यदु ज्ञवाली र भुवनेश्वर अर्यालले गर्नुभएको थियो भने त्यसको सहजीकरण स्थानीय स्वास्थ्य संस्थाहरूबाट गोपालप्रसाद पाण्डे, रामलाल विश्वकर्मा, हरि ज्ञवाली, छत्र अधिकारी, लोकनाथ पाण्डे र रबि कँडेललगायतले गर्नुभएको थियो । चिनियाँ सहयोगी हातहरूमार्फत पूर्वराजदूत पौड्यालले यसअघि जिप्रका गुल्मीमार्फत जिल्लामा एक लाख थान मास्क प्रदान गर्नुभएको थियो ।
जाजरकोटमा थपिँदै स्वास्थ्य संस्था
जाजरकोट, २१ मङ्सिर ।स्वास्थ्य संस्थाहरूको सङ्ख्या थपिँदै गएपछि रुकुमपश्चिमका स्थानीयवासीको सहजरूपमा उपचार गर्ने स्थानीयवासीको पहुँच बढेको छ । वडैपिच्छे स्वास्थ्य संस्था र पालिकास्तरमा अस्पताल बनेपछि स्थानीयवासीले सहजै उपचार पाउन थालेका हुन् ।
अहिले एउटा वडामा कम्तीमा एक अहेव र एक अनमी छन् । स–सानो उपचारका लागि स्थानीयवासीले वडा छाड्नुपर्ने बाध्यता टरेको छ । आधारभूत स्वास्थ्य एकाइमार्फत सर्वसाधारणले वडा तहमै आधारभूत तहको स्वास्थ्य सेवा पाएका छन् । त्यस्तै गाउँपालिका र नगरपालिकामा स्थानीयवासीले चिकित्सकबाटै उपचार सेवा पाइरहेका छन् ।जिल्लामा छ स्थानीय तह छन् । स्थानीय तह कार्यान्वयनमा आएसँगै स्वास्थ्य संस्थाको सङ्ख्या पनि बढेको हो । छ स्थानीय तहमा छवटा अस्पताल छन् । दुई अस्पताल पुराना हुन् भने चार स्थानीय तहले आफैँ चिकित्सकसहितको अस्पताल सञ्चालनमा ल्याएका छन् । मुसीकोट नगरपालिकामा जिल्ला अस्पताल र चौरजहारीमा चौरजहारी अस्पताल पहिल्यै थिए । आठबीसकोट नगरपालिकाले ९ नं वडाको राडीमा नगर अस्पताल सञ्चालन गरेको छ । चौरजहारीले १० नं वडाको खोलागाउँ, सानीभेरीले ७ नं वडाको छोटेबगर र त्रिवेणीले ३ नं वडाको खारानेटामा अस्पताल सञ्चालन गरेका छन् ।
आठबीसकोट नगरपालिका प्रमुख गोर्खबहादुर केसीले स्थानीय तह भनेको सङ्घीयता कार्यान्वयनको मुख्य आधार भएको बताउनुभयो । आधारभूत आवश्यकता पूर्तिमा स्थानीय सरकार केन्द्रित भएको उहाँको भनाइ छ । छवटै स्थानीय तहले हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेका छन् । कुनै वडामा त दुई वटासम्म स्वास्थ्य केन्द्र स्थापना गरिएको मुसीकोट नगरप्रमुख देवीलाल गौतमले बताउनुभयो । अहिले स–साना स्वास्थ्य समस्या वडामै निदान भइरहेको चौरजहारी नगरपालिका–१२ कालीबहादुर ओलीले बताउनुभयो । “वडा बनेपछि स्वास्थ्यचौकी पनि वडामै बन्यो र सेवा पाइरहेका छौँ”, उहाँले भन्नुभयो, “अहिले खोप सेवा, परिवार नियोजन सुविधा र सामान्य उपचार घर नजिकै पाइरहेका छौँ।”
जिल्लाका चार स्थानीय तहले बनाएका अस्पतालले मात्रै करिब ६२ हजार बिरामीको उपचार गरेका छन् । चौरजहारी नगरपालिकाका स्वास्थ्य संयोजक डन्डप्रसाद शर्माले नगरपालिकाले स्थापना गरेको अस्पतालबाट सर्वसाधारणले नजिकै सेवा पाइरहेको बताउनुभयो ।


