एमाले केन्द्रीय कमिटीमा नयाँ अनुहारको बाहुल्य

काठमाडौँ, २२ मङ्सिर । नेकपा (एमाले) को ३०१ सदस्यीय केन्द्रीय कमिटीमा १३७ जना (४६ प्रतिशत) नयाँ सदस्यको प्रवेश भएको छ । यही मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको दसौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचन र सहमतिका माध्यमबाट नयाँ नेतृत्व चयन भएको थियो । केन्द्रीय सदस्यमा ३२ वर्षका युवा र महिलाहरुले पनि प्रवेश पाएका छन् । एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार पुराना र नयाँ केन्द्रीय सदस्यको राम्रो सन्तुलन देखिएको विधानबमोजिम समावेशी अनुहार पनि कायम रहेको छ ।

एमालेले १० प्रतिशत (३१ जना) सम्म केन्द्रीय सदस्य मनोनयन गर्न सक्नेछ । यही मङ्सिर २५ र २६ गते काठमाडौँमा बस्ने केन्द्रीय कमिटीको दोस्रो बैठकले स्थायी कमिटी गठन, विभागीय जिम्मेवारी, मनोनयन, महाधिवेशनको समीक्षालगायत कार्यसूचीमा छलफल गर्नेछ । सोका लागि अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा, महासचिव शङ्कर पोखरेललगायतका नेताहरुले गृहकार्य गरिरहनुभएको जनाइएको छ । केन्द्रीय सदस्य नपरेको जिल्ला जुम्ला, पर्वत, सोलुखुम्बु र मनाङबाट पनि समावेश गर्ने गरी मनोनयन हुने जनाइएको छ ।

अर्गलका मगर समुदाय सिस्नो खोसेर कुलपूजा गर्न व्यस्त
–रामबहादुर थापा,बागलुङ, २२ मङ्सिर । ताराखोला गाउँपालिका–२ अर्गलका रैथाने मगर समुदाय सोमबारदेखि कुलपूजामा व्यस्त छन् । कुलपूजालाई उनीहरु पुस्तैनी पर्वका रूपमा लिन्छन् । तीन दिनसम्म हर्षबढाइँ गर्छन् । अर्गलीका कुलपूजामा अनौठो परम्परा छ, सिस्नो खोस्ने । यदि त्यसलाई झिकिदिने हो भने कुलपूजा अपुरो हुन्छ । पहिलो दिन कुल (समाज) घरमा भेला भएर गाउँलेहरु पूजापाठ गर्छन् । दोस्रो दिन सिस्नो खोस्छन्, त्यसपछि नचरीसहित पर्व सकिन्छ ।मगरजनले कुलपूजामा छोरी, ज्वाइँचेला र आफन्तलाई निम्ता गरी मिठोमसिनो खुवाउँछन् । एकापसमा खुशी साट्छन्, रमाउँछन् । त्यस पर्वमा कुलसँगै भूमि र प्रकृति पूजा पनि हुन्छ । कूलपितृको उद्धार, मानवजातिको भलोका निमित्त अर्चना हुन्छ । रोगव्याधी नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गरिन्छ । सिस्नो खोस्ने परम्परालाई युवायुवतीबीच भेटघाट हुने, आत्मियता बाँड्ने अवसरका रूपमा पनि लिइन्छ । सिस्नो खोस्दा युवायुवतीले आँटेको पुग्ने, वैवाहिक जीवन सफल हुने र परिपक्कता पनि झल्कने लोकविश्वास छ ।

कुलपितृका नाममा बलि चढाइएको सुँगुरलाई सिस्नोको मुठाभित्र बाँधेर अविवाहित युवायुवतीबीच खोसाखोस गर्ने चलन रहेको स्थानीयवासी दिलबहादुर रोकामगरले बताउनुभयो । एकाथरि ढ्याङ्ग्रो र झ्यालीको तालमा ‘आयो, आयो…’ भन्दै गीत गाउँछन् भने पछिपछि सुँगुरको साँप्रो राखिएको सिस्नोको मुठा बोकेका युवाहरु हुन्छन् । अर्को छेउ मौलिक वेषभूषामा सजिएर सिस्नो खोस्न तम्तायर युवतीहरु हुन्छन् ।हातमा सिस्नो समातेका युवकहरु युवतीहरुको नजिक पुग्छन्, सिस्नोले हातमा छोइदिन्छन्, जिस्किन्छन् । युवतीहरु पनि के कम, केटा पक्षले सिस्नोमा बाँधेर ल्याएको सुँगुरको साँप्रो खोस्न होमिन्छन्, अनि सुरु हुन्छ तानातान र खोसाखोस । यो दृश्य निकै नै अनौठो र रोमाञ्चक देखिन्छ । युवायुवतीबीच सिस्नो खोसाखोस र ठेलमठेल चलिरहेकै हुन्छ । अन्तिममा एक पक्षले जित्छ । युवतीले जिते युवकहरुले दण्ड तिर्नुपर्ने चलन छ । जसले जिते पनि सँुगुरको मासु पछि प्रसादका रूपमा सबै मिलेर ग्रहण गर्छन् ।

“दिव्य बाह्र वर्षमा कुलपूजा गर्ने परम्परा छ”, रोकामगरले भन्नुभयो, “यो हाम्रो ठूलो पर्व हो, धेरै वर्षमा आउने भएकाले पनि यसको महत्व बढी छ ।” त्यहाँका सिँजाली रोकामगरहरुले १२ वर्षमा कुलपूजा गर्छन् । अरु मगर जातिमा भने थोरै वर्षको अन्तर पारेर पनि कुलपूजा गर्ने चलन छ ।मगर भाषा तथा संस्कृति संवद्र्धन समितिका सचिव बिर्बलाल घर्तीमगरले मगर समुदायको कुलपूजा पुरानो संस्कृति र पद्धतिमा आधारित रहेको बताउनुभयो । उहाँले ताराखोला–२ अर्गलबाहेक ४ तारागाउँ र २ हिलमा पनि कुलपूजामा सिस्नो खोस्ने परम्परा रहेको उल्लेख गर्नुभयो । तारागाउँमा हरेक दुई वर्षमा भदौ शुक्ल (उजेली पक्ष) मा सिस्नो खोस्ने पर्व मनाइन्छ । त्यो पनि कुलपूजा नै हो । पन्र्धौँ शताब्दीतिर डोल्पाको ताराभोटबाट आएका मगरका पूर्वजले सो पर्वको चलन बसालेको सचिव घर्तीमगरले बताउनुभयो ।

सोही समयमा पाल्पाको अर्गलीबाट थातथलो सरी ताराखोला–२ मा आएका मगरहरुले अर्गलमा सिस्नो खोस्ने संस्कार थालेका हुन् । दुवै गाउँका रैथानेले सिस्नो खोस्ने पर्वलाई पुर्खाले छाडेर गएको नासोको रुपमा लिन्छन् । शाखापुर्खादेखि चल्ने आएको संस्कृतिका रूपमा गर्व गर्छन् ।कुलपूजामा बुढापाका, अविवाहित युवायुवती मिलेर बाटो सफाइ गर्ने, पूजास्थलमा धामी नाच्ने, पितृ डाक्ने, तीन महिना अघि राखेको कोदोको जाँड चढाउने, खाने गरिन्छ । कुलथानमा साँढ, सुँगुर, बोका र भालेको बली दिने चलन रहेको कुल घरका सञ्जय रोकामगरले बताउनुभयो ।

“हिजैदेखि कुलपूजा सुरु भएको हो, आज सिस्नो खोसिन्छ र भोलि नचरी लगाएपछि पर्व सकिन्छ”, उहाँले भन्नुभयो । सिस्नो खोस्नुपूर्व पितृ र देउताको पूजासँगै गाउँका साँध सीममा रहेको वन, बुकी, खर्क र गोठलाई गीतमार्फत सम्झने चलन छ । गुरुबा र पुजारीहरुले ढ्याङ्ग्रो बजाउँदै गीत गाउँछन् । पुर्खा, कुलपितृ र देवीदेउतालाई गीतबाटै घुमाएर कुल (समाज) घरमा ल्याएर राख्ने परम्परा छ । स्थानीयवासीले यो पर्वलाई कुल र भूमिपूजाका रुपमासमेत लिन्छन् । सिस्नो खोस्ने पर्वसँगै, असारे, भुस पोल्नेलगायतका पर्व ताराखोलामा प्रचलित छन् । भनिन्छ, ३६५ दिनमा १४५ दिन ताराखोलामा मेला, पर्व चल्छन् । मगर समुदायले आफ्नै बलबुतामा पुरानो संस्कृतिलाई धान्दै आएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।