प्रदेश १ मा २३ जनामा कोरोना संक्रमण
विराटनगर, २२ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण भएको छ । ३६२ जनाको पीसीआर परीक्षण गर्दा २२ र ११५ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर झापामा ९, मोरङमा ७ र सुनसरीमा ६ जनामा संक्रमण देखिएको हो ।
झापाको भद्रपुर, मेचीनगर र बुद्धशान्तिमा २–२, विर्तामोड, गौरादह र दमकमा १–१, मोरङको विराटनगरमा ४, पथरीशनिश्चरे, रंगेली र बेलबारीमा १–१, सुनसरीको इटहरीमा ४, रामधुनी र धरानमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज २२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६ महिला र १६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्याराग्लाइडिङको पूर्वाधार प्रयोगविहीन
बागलुङ, २२ मंसिर/गण्डकी प्रदेश सरकारले बागलुङको बलेवा क्षेत्रमा निर्माण गरेको प्याराग्लाइडिङ पूर्वाधार प्रयोगविहीन भएको छ । पोखराको वैकल्पिक प्याराग्लाइडिङ गन्तव्यको रूपमा विकास गर्ने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले गत वर्ष निर्माण गरेको संरचना एक वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको हो ।
संरचना तयार भएका एक वर्षसम्म पनि प्याराग्लाइडिङ हुन सकेको छैनन् । गण्डकी प्रदेश सरकारले गत वर्ष २२ लाख लागतमा बागलुङ नगरपालिका-१४ मा प्याराग्लाइडिङको लागि आवश्यक मैदान, भवन, शौचालय जस्ता संरचना तयार गरेको उपभोक्ता समितिका सचिव भरत पौडेलले जानकारी दिए ।
स्थानीय तह तथा प्रदेश सरकारले संरचनाको जिम्मेवारी नलिँदा समस्या भएको सचिव पौडेलले बताए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि त्यहाँ सञ्चालित प्याराग्लाइडिङ बलेवामा सञ्चालन गर्ने प्रदेश सरकारले लक्ष्य राखेको थियो ।
पोखरामा विमान स्थल सञ्चालनमा आउने र प्याराग्लाइडिङ विस्थापन हुने वा नहुने विषय नै विचारधीन हुँदा तत्काल व्यावसायिक उडान सम्भावना नभएको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताए । भौतिक संरचना निजी कम्पनीले अनुमति लिएर उडान सुरू गर्न चाहेमा काम गर्न सक्ने उनले बताए । । बलेवामा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएपछि व्यावसायिक उडानको लागि संरचना तयार गरिएको हो ।
बलेवामा निर्माण गरिएको संरचना एक हजार ८५४ मिटरको उचाइमा छ । धौलागिरि हिमालको काख, कालीगण्डकीले बनाएका खोँचको विचरण, बागलुङ, पर्वत र म्याग्दी जिल्ला सदरमुकाममाथि प्याग्लाइडिङ सयर गर्न सकिने र सहासिक पर्यटनका लागि पूर्वाधारसमेत बलेवा क्षेत्रमा छ ।


