प्रदेश १ मा आज १३ जनामा कोरोना संक्रमण पुष्टि,२ को मृ त्यु
विराटनगर, २३ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा ११ र १२१ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयको अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा ५, मोरङमा ३, झापामा २ र प्रदेश १ बाहिरका एक जनामा संक्रमण देखिएको हो ।
सुनसरीको धरान र इटहरीमा २–२ र इनरुवामा १, मोरङको विराटनगर, सुन्दरहरैचा र बेलबारीमा १–१, झापाको हल्दिबारी र दमकमा १–१ र प्रदेश १ बाहिरका एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज २५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ११ महिला र १४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा एक महिला र एक पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
अब हामीसँग बोल्ने कुरा रहेन, नागरिक निराश छन् : गगन थापा
काठमाडौं, २३ मंसिर /कांग्रेस महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका गगन थापाले जनतासँग वाचा गरेअनुसार काम गर्न नसकेका दलहरूमा अब बाहना नरहेको बताएका छन् । आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै उनले आन्दोलनपछि प्राप्त राजनीति उपलब्धी भए पनि जनतामाझ गरेको वाचा पूरा गर्न नसकेको बताए ।
‘हामीले जनआन्दोलनपछि ठिक हुन्छ भन्यौँ, त्यसपछि संविधानसभा निर्वाचन, संविधान निर्माण, नयाँ संविधानअनुसार राज्यको पुनर्संचना भएपछि ठिक हुन्छ भन्यौँ,’ उनले भने, ‘तर, अहिले अहिले जनतामाझ गरिएका वाचा पूरा भएनन् । राज्यका निकाय कमजोर बने ।’पाँच वर्ष कम्युनिष्टले सरकार चलाउने र जनताको पक्षमा काम गर्ने विश्वास गरेर तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई शुभकामना दिएको भन्दै उनले तर, त्यसअनुसार काम नहुँदा जनतालाई दिने जवाफ नभएको र जनता पनि निराश भएका बताए ।
‘पार्टी पुनर्जागरण र रुपान्तरण’ नारा दिएका नेता थापाले अब कांग्रेसले ‘म होइन हामी’ भनेर काम गर्ने बताए । कांग्रेसको सदस्य हुनु र चुनाव जित्नु भन्दा पनि संकल्पसहित काम गर्न दृढता आवश्यक पर्ने भन्दै उनले आफूले काम गर्नकै लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेको बताए । कांग्रेसको महामन्त्री भनेको कुर्सीमा बस्नेमात्र होइन पार्टीको नीतिअनुसार काम गर्ने व्यक्ति रहेको भन्दै नेता थापाले प्रत्येक नेपालीसँगको क्षमता प्रयोग गर्न शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्नुपर्ने बताए ।


