जनमुक्तिको धनकुटा जिल्ला समिति नै जसपामा प्रवेश
धनकुटा । राष्ट्रिय जनमुक्ति पार्टीको धनकुटा जिल्ला कार्य समिति जनता समाजवादी पार्टी नेपाल (जसपा)मा समाहित भएको छ ।शुक्रबार धनकुटामा आयोजित एक समारोहका बीच जनमुक्ति पार्टीका धनकुटा जिल्ला अध्यक्ष शन्तवीर लामा नेतृत्वको जिल्ला कार्य समिति नै जसपामा समाहित भएको हो ।
लामासहितका नेता कार्यकर्तालाई जसपामा स्वागत गर्न पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व मन्त्री एवम् पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङलगायत नेताहरु धनकुटा पुगेका थिए ।कार्यक्रमपछि आफ्नो फेसबुक पेजमा नेता चेम्जोङले सो बारे उल्लेख गरेका छन् । धनकुटावासीमाझ नेता चेम्जोङ विकासप्रेमी नेताका रूपमा परिचित छन् ।
जसपामा सिङ्गो जिल्ला समिति नै समाहित भएपछि हरप्रहर न्यूजले लिएको प्रतिक्रियामा अध्यक्ष लामाले समान लक्ष्य र उद्देश्य बोकेका राजनीतिक दल र कार्यकर्ताले एउटै मूल प्रवाहमा समाहित हुनुपर्ने प्रतिक्रिया दिए । उनले भने- ‘पहिचान पक्षधरहरुको गोलबन्द हुने क्रम धनकुटाबाट सुरु भएको छ ।’
जसपा धनकुटाका अध्यक्ष बलबहादुर राईले जनमुक्तिको जिल्ला समिति समाहित भएको घटनाले पार्टीका नेता कार्यकर्तामा थप उर्जा र उत्साहको सञ्चार भएको प्रतिक्रिया दिए ।समाहित नेता कार्यकर्ताहरुलाई पार्टीले उपयुक्त जिम्मेवारी दिएर सम्मान गर्ने उनको भनाइ छ ।


