सामुदायिक विद्यालयमा पोशाक वितरण अभियान
बनियानी, ५ फागुन । झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रका सामुदायिक विद्यालयमा पोशाक वितरण अभियान सुरु गरेको छ । नगर क्षेत्रका दुई धार्मिकसहित २० सामुदायिक विद्यालयमा पोशाक वितरण अभियान सुरु गरिएको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिनुभयो । “सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका र विपन्न परिवारका विद्यार्थीका लागि पोशाक वितरण गर्न थालिएको हो”, उहाँले भन्नुभयो, “अभिभावकले पोशाक खरीद गर्न नसकेकै कारण विद्यार्थी विद्यालय जानबाट बञ्चित भएका छन्, यस्तो अवस्था आउन नदिन र विद्यालयप्रति आकर्षण बढाउन अभियान शुरु गरिएको हो ।” अभियानअन्तर्गत सामुदायिक विद्यालयका कक्षा–५ सम्मका विद्यार्थीका लागि विद्यालय पोशाक वितरण गरिने भएको छ । सुरुआतमा बिर्तामोड–६ स्थित सरस्वती माध्यमिक विद्यालयका १६४, वडा नं ७ स्थित लक्ष्मी आधारभूत विद्यालयका ८३, जनता प्राथमिक विद्यालय खालबाडीका १४७ र वडा नं ८ स्थित शुक्रराज आधारभूत विद्यालयका १६८ विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । “मजदूरी गरेर छोराछोरीलाई विद्यालय पठाए पनि विद्यालय पोशाक किन्न नसक्ने अवस्थाका अभिभावकलाई लक्ष गरी अभियान थालिएको र कतिपय विद्यार्थीले आफूसँग अरुकोजस्तो ड्रेस नभएका कारण मन दुखाउने तथा हिनताबोध गर्ने हुन्छन्”, नगरप्रमुख शिवाकोटीले भन्नुभयो, “विद्यार्थीमा एकरुपता ल्याउन पोशाक वितरण गरिएको हो ।” नगरका अन्य विद्यालयमासमेत धमाधम पोशाक वितरण गरिने नगरपालिकाले जनाएको छ ।
झापा गोल्डकपको मस्कट, नारा र गीत सार्वजनिक-बिर्तामोडस्थित डोमालाल रङ्गशालामा हुँदै आएको ‘झापा गोल्ड कप’को पाँचौँ संस्करणका लागि मस्कट, नारा र गीत सार्वजनिक गरिएको छ ।गोल्डकप आयोजक समितिले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा हात्तीको छावाले फुटबल खेल्दै गरेको मस्कट झापा–११ फुटबल क्लबका संरक्षक जलकुमार गुरुङले सार्वजनिक गर्नुभएको थियो । त्यस्तै गोल्डकपको नारा र गीतसमेत सार्वजनिक गरिएको छ । झापाको पहिचानको रुपमा स्थापित हुँदै गएको झापा गोल्डकपलाई थप व्यवस्थित गर्दै लैजाने क्रममा मस्कट, नारा र गीत बनाइएको गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताउनुभयो । मस्टक कलाकार पवन राजवंशीले बनाउनुभएको हो । गोल्ड कपको यस वर्षको नारा ‘हाम्रो गौरव, हाम्रो मान झापा गोल्ड कप हाम्रो सान’ तय गरिएको छ । गीतकार बसन्त थाम्सुहाङद्वारा रचित अफिसियल गीतमा डम्बर नेपाली, भीषण मुकारुङ, सुनिता थेगिम र दिपा लामाको स्वर रहेको छ । यही फागुन २१ देखि बिर्तामोडस्थित डोमालाल रङ्गशालामा सञ्चालन हुने गोल्डकपका लागि मैदान व्यवस्थापन, आर्थिक सङ्कलनलगायत काम भइरहेको आयोजक समितिले जनाएको छ ।
यो पनि पढ्नुहोस्.. गलकोट। तानमा बुनेको ढाका कपडाको विशेषता बेग्लै किसिमको हुन्छ । यसको महत्व नबुझ्दा ढाकाप्रति स्थानीयवासीको खासै आकर्षण छ्रैन । त्यसको प्रत्यक्ष प्रभाव तमानगाउँका महिलालाई पर्न गएको छ । चार वर्षदेखि ढाकाका कपडा उत्पादन गर्दै आएका तमानखोला गाउँपालिका–३ तमानगाउँका महिलाले यसको बजारीकरणमा समस्या भएको बताएका छन् । उद्यमीले उत्पादन गर्दै आएका ढाकाले बजार पाउन नसकेको हो । सुरु–सुरुमा स्थानीयवासीले चासो दिएर खरिद गरे पनि पछिल्लो समय ढाका कपडा बिक्न छाडेको छ । उत्पादित कपडा गोदाममै थन्किँदा महिला उद्यमी निराश छन् ।
चार वर्षदेखि निरन्तर ढाका कपडा उत्पादन गर्दै आएकी जुनामाया घर्ती बजारमा आएका औजारले बुनेका सस्ता कपडासँग प्रतिस्प्रधा गर्न नसकिएको बताउनुहुन्छ । ढाकाको महत्व नबुझ्दा उत्पादनले बजार नपाएको उहाँको बुझाइ छ । चौध जनाले सामूहिकरूपमा कल्याण आमा समूहको भवनमा ढाकाका कपडा बुन्दै आएकामा हाल सात जनामा सीमित भएको घर्तीले बताउनुभयो ।“हामीले आफ्नै खर्चमा तालिम लियौँ, स्थानीय उत्पादनका रुपमा कोसेली दिन ढाकाका कपडा तानमा बुन्न थालेका हौँ, सुरुमा राम्रै बिक्री भयो, लगानीसमेत उठायौँ”, उहाँले भन्नुभयो, “विस्तारै हाम्रो उत्पादन बढ्दै गयो, बिक्री घट्दै गयो, महङ्गो र यसको महत्व नबुझ्दा प्रयोग घट्न थालेको छ ।” गाउँपालिकाले बजारीकरण गर्न आवश्यक सहयोग गर्नुपर्ने घर्ती बताउनुहुन्छ ।
ढाकाका कपडाका कारण घरको चुलोचौकोमा सीमित तमानगाउँका महिलाको दैनिकी फेरिँदै गएको छ । ढाकाले बजार नपाउँदा भने उद्यमीमा निराशा छाएको छ । ढाका उद्योगले महिलाको आयआर्जनमा टेवा पु¥याएको जमुना घर्ती मगरले बताउनुभयो । “ढाकाको चोला, खास्टो, गलबन्दी, पछ्यौरालगायतको व्यापार खस्केको छ, हामी आफँै गाउँ गाउँमा पुगेर बिक्री गर्न थालेका छौँ”, उहाँले भन्नुभयो । व्यापारमा कमी आएपछि कतिपयले ढाका उद्योग छाडेर पुरानै काममा फर्केको अवस्था छ । केही उद्यमीलाई घरबाट असहयोग हुादा विस्थापित हुनुपरेको घर्ती बताउनुहुन्छ । स्थानीय सरकारले बजारीकरण गरे ढाका उद्योग फस्टाउने उहाँहरुको विश्वास छ । ढाका उद्योगमा अहिले ११ तान रहेका छन् । महिलाले उत्पादन गरेको स्वीटर, झोला, खास्टो, गलबन्दी, पछ्यौरालगायत ढाकाका कपडा अहिले उद्योगमै थन्किन थालेका छन् । समूहका सबैले सुरुआतमा जनही रु ६० हजार लगानी गरेर उद्योग सञ्चालन गरेका हुन् । उनीहरुले कपडा बनाउन चाहिने धागोलगायत सामान काठमाडौँबाट ल्याउने गरेका छन् । बजार व्यवस्थापनका लागि सरकारले सहयोग गरे आफूहरूलाई थप सहज हुने महिला उद्यमीको भनाइ छ । एउटा सल बुन्न दुईदेखि तीन दिन तथा अन्य कपडा बुन्न झण्डै एक हप्तासम्म लाग्ने गरेको महिला उद्यमी बताउँछन् । एउटा गलबन्दीको मूल्य रु एक हजारदेखि रु एक हजार ५०० तथा एउटा सलको रु एक हजार २०० देखि रु दुई हजार ५०० सम्म पर्छ ।


