सिंगाे प्रदेशकी एक्ली महिला पालिका अध्यक्ष कुमारीकाे कमाल

लक्ष्मण पौडेल/बुटवल, २४ फागुन । गत स्थानीय तहको निर्वाचनमा लुम्बनी प्रदेशका स्थानीय तहहरूमा नौजना महिलाले पालिका प्रमुखमा उम्मेदवारी दिएका थिए । तर, पुर्वी रूकुमको सिस्ने गाउँपालिकाकी कुमारी बराल गौतमले मात्रै चुनाव जितिन् । बाँकी पालिकाका उम्मेदवार पराजित भए । लुम्बिनी प्रदेशमा १०९ स्थानीय तह छन् ।

गाउँपालिकाको नेतृत्व गरिरहेकी बरालले साढे चार वर्षेमा नयाँ नयाँ योजना मात्र ल्याएकी छैनन्, आफूलाई अब्बल नेतृत्वकाे रुपमा स्थापित गरेकी छिन् । उनले गत स्थानीय तहको निर्वाचनमा पुरूष प्रतिस्पर्धीलाई हराएर नेकपा माओवादी केन्द्रबाट गाउँपालिकाकाे नेतृत्व गरेकी थिइन् । बाँकी १०८ पालिकाको नेतृत्वमा भने पुरूषनै छन् ।

कानुन निर्माणमा पहिलाे

कुमारीले नेतृत्व गरेकाे गाउँपालिकाले सिंगाे प्रदेशमा सबैभन्दा पहिले कानुन निर्माण गरेकाे थियाे । साथै विकास निर्माणका लागि गुरुयोजना बनाएर काम गर्ने पहिलाे पालिका पनि यही थियाे । ‘अहिले पनि महिलाको काम र क्षमतालाई नपत्याउने प्रवृत्ति छ,’ उनले भनिन् । साढे चार वर्ष आफ्ना लागि नयाँ भए पनि क्षमता विकासमा सघाउ पुर्‍याएको उनको भनाइ छ ।

सिस्ने गाउँपालिकाले कक्षा ६ देखि ८ सम्म स्थानीय पाठ्यक्रम, छोरी बिमा, सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा, स्वाथ्यकर्मी तयार गर्न निःशुल्क स्वास्थ्य शिक्षा, युद्ध संग्रहालय, सहिद स्मारक पार्क, हिंसापीडित महिलाका लागि अल्पकालिन आवास गृह, कृषि क्षेत्रको विकासका लागि पकेट निर्माण, सडक सन्जाल, दृष्टिविहीन र सुस्त मस्तिष्क भएकाहरूका लागि छात्रावास निर्माण, स्थानीय स्तरमा विद्युत उत्पादन, गाउँपालिकाको समग्र विकासका लागि नीति निर्माण तथा योजना तर्जुमा गरेको छ ।

हिंसामा परेका महिलाका लागि वडा नम्बर ५ मा सेफ हाउस (सुरक्षित आवासगृह) निर्माण गरेको उनले बताइन् । ‘महिलाको क्षमता अभिवृद्धिका लागि सिलाइकटाइ लगायतका तालिम पनि हामीले चलायौं, लोक सेवाको तयारी कक्षा पनि सन्चालन गरिरहेका छौँ,’ उनले भनिन् ।

गत स्थानीय तहको निर्वाचनमा एमालेले पाँच स्थानीय तहमा महिलालाई प्रमुखको उम्मेदवार बनाएको थियो । नवलपरासीको सुनवल नगरपालिकाको प्रमुखमा एमालेले विमला अर्याललाई उठाएको थियो भने कपिलवस्तुको बाँणगंगा नगरपालिकाको मेयरमा विमला घिमिरे र मायादेवी गाउँपालिका अध्यक्षमा फौजिया नसिमलाई उम्मेदवार बनाएको थियो ।

यस्तै, रोल्पा नगरपालिकाको मेयरमा मीना शर्मा र रूकुमको भूमे गाउँपालिका अध्यक्षमा आशा स्वर्णकारलाई एमालेले उम्मेदवार बनाएको थियो । तर, एमालेले उम्मेदवार बनाएको कुनै पनि महिलाले प्रमुखमा चुनाव जितेनन् । कांग्रेसले भने १०९ स्थानीय तहमध्ये अन्यमा महिलालाई प्रमुख पदमा उम्मेदवार उठाएको थिएन ।

माओवादी केन्द्रले दाङको लमही नगरपालिका मेयरमा द्रौपदा पौडेल, गुल्मीको इस्मा गाउँपालिकाको अध्यक्षमा विमला थापा र तानसेन नगरपालिकाको मेयरमा प्रतिक्षा सिन्जाली मगरलाई उम्मेदवार बनाएको थियो । ती तीनै जना पराजित हुँदा माओवादी केन्द्रबाट सिंगो प्रदेशमा सिस्ने गाउँपालिका अध्यक्षमा महिला उम्मेदवार विजयी भइन् ।

लुम्बिनी प्रदेशका कपिलवस्तुमा तीन जना र बर्दियामा तीन जना महिला वडाध्यक्ष छन् । उनीहरूमध्ये तत्कालिन माओवादी केन्द्रका एक जना, नेपाली कांग्रेसका तीनजना, जनता समाजवादी पार्टीका एक जना र राप्रपाका एक जना छन् ।

बर्दियाको गुलरिया नगरपालिका–७ की अध्यक्ष गीता बस्नेतले महिलाले नेतृत्व गरेका ठाउँमा भ्रष्टाचार र अनियमितता हुँदैन भन्ने कुरालाई आफूले प्रमाणित गरेको बताइन् । पुरूषसँगको प्रतिस्पर्धामा उत्रिएर आफु अध्यक्ष भएसँगै वडाको समग्र विकासका लागि इमान्दारितापूर्वक काम गर्दै आएको उनले बताइन् ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–९ की वडाअध्यक्ष राधा चौधरीले वडाअध्यक्ष भएर काम गर्न पाउँदा आफूलाई गर्व लागेको बताइन । ‘महिलाहरूलाई प्रमुख भएर काम गर्ने अवसर दिने हो भने पुरूषको नेतृत्वको तुलनामा महिलाको नेतृत्व सफल र उदाहरणीय बन्छ,’ उनले भनिन् । आफ्नो वडामा जिल्लामै पहिलो पटक कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम तयार गरी लागु गरेको उनले बताइन् ।

स्थानीय स्तरमै सेनेटरी प्याडको उत्पादन, पाठेघरको निःशुल्क स्वास्थ्य उपचार, महिला उद्यमशीलता र सशक्तिकरणका लागि विभिन्न कार्यक्रम सन्चालन, धर्म संस्कृतिको संरक्षण, योजना र समग्र वडाको विकासका लागि २० वर्षे गुरूयोजना बनाएको उनले बताइन् ।

कपिलवस्तुको शिवराज नगरपालिका–१० को उपनिर्वाचनबाट जसपाकी मन्जु मिश्रले वडाअध्यक्षको जिम्मेवारी पाएकी छिन् । वडाअध्यक्ष भएपछि महिलाले केही गर्न सक्दैनन् भन्ने धारणा बदल्न सफल भएको उनले बताइन् । ‘महिलाहरू खुलेर हिँड्न सक्ने अवस्था थिएन, अहिले सहज रूपमा प्रस्तुत भएर अधिकार माग्नेसम्म भएका छन्’ उनले भनिन्, ‘वडामा महिलाको नेतृत्व आएपछि समुदायमा हुने अन्य गतिविधिहरूमा पनि महिलालाई अग्रसर गराउन लागिएको छ ।’

स्थानीय सरकारमा काम गर्न पाउँदा आफूलाई खुसी लागेको उनले बताइन् । सडक, सिंचाई र खानेपानी जस्ता वडाका समस्या समाधान गर्दै आफूलाई सफल र सक्षम महिला नेतृको रूपमा स्थापित गर्ने चाहनाअनुसार काम गरेको उनले बताइन् । उनका अनुसार, उनको वडामा पिछडिएका तथा गरिब समुदायका लागि लक्षित कार्यक्रम सन्चालन गरिएको छ ।

यसोधरा गाउँपालिका–३ की वडाअध्यक्ष सरिता त्रिपाठीले लक्षित वर्गलाई मध्यनजर गरेर कार्यक्रम सन्चालन गर्दै आएको बताइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।